काठमाडौं- सभामुख कृष्णबहादुर महरा युरेसियन मुलुकका सभामुखको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्।
सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बिहान कजाकस्तानतर्फ प्रस्थान गरेका हुन्। महरा नेतृत्वको प्रतिनिधिमण्डल सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसद्का सभामुखको चौथो बैठकमा सहभागी हुनेछ ।
प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरी, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन छन्। बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्।
बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम छ।
युरोपियन युनियनको सीमादेखि सुदूरपूर्वसम्म फैलिएका १३ देशलाई युरेसियन देश भनिन्छ । यसमा अफगानिस्तान, अर्मेनिया, अजरबैजान, बेलारुस, जर्जिया, कजाकस्तान, किर्गिस्तान, मंगोलिया, रिपब्लिकन अफ माल्डोभा, ताजिकिस्तान, तुक्रमेनिस्तान, युक्रेन र उज्वेकिस्तान पर्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४