जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन नभए विद्रोह हुने चेतावनी दिएका छन्। सरकारले संविधान संशोधन गर्न चासो नदेखाएको भन्दै ठाकुरले संशोधन नभएसम्म आन्दोलन र विद्रोह जारी रहने बताए।
जनकपुरमा शुक्रबार आयोजित नेपालको संविधान २०७२ मा जनताको अवधारणाः राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा बोल्दै ठाकुरले संविधानले देशलाई दुई भागमा विभाजित गरेको आरोप लगाए।
संविधान पथप्रदर्शक हुनुपर्ने भएपनि वर्तमान संविधानले जनतालाई विभाजित गरेको ठाकुरको जिकिर थियो। पिंजडामा पशुपंक्षीलाई कैद गरेर राख्दा तोडेर बाहिर निस्कने प्रयास गर्दछ भन्दै उनले उत्पीडनको साङ्लो तोड्न मधेशी जनता आन्दोलनका साथै विद्रोह पनि गरिरहने बताए।
‘पीडाको बोझ बोकेर जनता अहिले बसेका छन्। मनको बाँध टुटेपछि विद्रोह हुन्छ, जनता मुक्ति पाउँछन् । स्वतन्त्र हुन्छ,’ ठाकुरले भने।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले ग्यारेन्टी गरेको अधिकार पनि संघीय सरकारले खोस्ने षडयन्त्र गरिरहेको आरोप लगाए। संघीय सरकारले ल्याउन लागेको विधेयकहरु अधिकार खोस्नेमात्र रहेको उनले जिकिर गरे।
संविधान संशोधन गर्ने आश्वासनका साथ संघीय सरकारमा आफ्नो दल सामेल भएपनि त्यसो हुन नसकेको राउतको गुनासो थियो। संविधान संशोधन नभएसम्म असन्तुष्टि यथावत रहने उनले बताए।
वरिष्ठ पत्रकार किशोर नेपालले संविधानले सबै नेपालीलाई सन्तुष्ट पार्न नसकेको टिप्पणी गरे। संशोधन गरेर सबैलाई ओत लाग्ने खालको संविधान नबनाए असफल भइने उनले दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४