काठमाडौं- तेस्रो संस्करणको यू-१८ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत जारी खेलको पहिलो हाफमा नेपाल १-० गोलले पछि परेको छ। हलचोकस्थित एपीएफको खेल मैदानमा जारी खेलमा नेपाल माल्दिभ्ससँग १-० गोलले पछि परेको हो।
माल्दिभ्सका तर्फबाट कप्तान हसन नजेमले खेलको १२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। यसअघि खेलको दोस्रो मिनेटमा नेपालले गोल गरे पनि रेफ्रीले अफसाईड दिएका थिए।
खेलको पाँचौ मिनेटमा माल्दिभ्सका कप्तान हसन नजेमले गरेको प्रहार नेपालका गोलरक्षकले सहजै रोकेका थिए। ३४ औं मिनेटमा माल्दिभ्सका कप्तान हसनले पेनाल्टी क्षेत्र नजिकैबाट गरेको प्रहार गोलपोस्ट नजिकैबाट बहिरिएको थियो ।
४१ औं मिनेटमा मनिष डांगीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार माल्दिभ्सका गोलरक्षक हसन अलीफले सहजै बचाउ गर्दा नेपाल बराबरी गोल फर्काउनबाट चुकेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४