काठमाडौं – लागूऔषध नियन्त्रण ब्यूरोले तीन भारतीय नागरिकसहित सात जनालाई नियन्त्रणमा लिएको छ।
ब्यूरोले काठमाडौंको शान्तिनगरबाट बीआर–३० पी ८६०७ नम्बर भारतीय स्करपियो जीपबाट ४ हजार ३ सय २६ थान प्रतिबन्धित औषधि बरामद गर्नुका साथै सात जनालाई पक्राउ गरेको हो।
उक्त गाडीबाट २० लिटरका दुईवटा बाल्टिनमा राखेको डाईजेपाम १०४७, नुर्फिन १०३७ र फेनारगन १०४२ गरी जम्मा ३१२६ थान एम्पुल बरामद भएको ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेहरुमा भारत, सितामढीका ३७ वर्षीय राजा कुणाल, ३२ वर्षीय राजेशकुमार जयसवाल अशोगी–४ का ३७ वर्षीय अभिषेक कुमार जयसवाल छन्। अभिषेक काठमाडौंका सडकमा विजुलीका सामान बेच्ने कामको आवरणमा लागूऔषधको कारोबारी रहेको ब्यूरोले जनाएको छ।
ब्यूरोका एसएसपी वसन्तकुमार लामाका अनुसार भारतको पटनाबाट ल्याइएको लागूऔषध काठमाडौंका प्रयोगकर्तालाई बेच्ने उद्देश्यका साथ भित्र्याइएको हो।
सिरहाबाट चार जना पक्राउ
त्यस्तै गत भदौ २७ गते ब्यूरोले लागूऔषधसहित सिरहा गोलबजार–४ का ४२ वर्षीय उतिमलाल साह, २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा–१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी, काभ्रे रोशी–७ का २८ वर्षीय पेमा लामालाई पक्राउ गरेको छ।
पक्राउ परेका चार जनाबाट डाईजेपाम ४१० एम्पुल, फेनारगन ३७५ र नुर्फिन ४१५ एम्पुल गरी जम्मा १२०० थान लागूऔषध बरामद भएको छ। पक्राउ परेका चारैजना विभिन्न मुद्दामा जेलजीवन विताइसकेका व्यक्ति हुन्।
पक्राउ परेका उतिम लाल साह कर्तव्य ज्यान मुद्दामा २ वर्ष ९ महिना कैद भुक्तान गरेका व्यक्ति हुन् भने सुजेन्द्र लोहनी लागूऔषध सहित पक्राउ परी दुई वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन्।
त्यस्तै काभ्रेकी पेमा लामा चोरी मुद्दामा तीन वर्ष चार महिना जेल बसेकी र अशोक तामाङ बलात्कार मुद्दामा दुई वर्ष ६ महिना कैद भुक्तान गरी सकेका व्यक्ति हुन्।
चारैजना सिरहा जेलमा रहेका बेला चिनजान भएको र यसअघि पनि लागूऔषधको कारोबारमा जेल परेका सुजेन्द्र लोहनीको योजना अनुसार अन्य तीनजना प्रयोग भएका ब्यूरोका एसएसपी लामाले बताए।
पक्राउ परेका ७ जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा चलाइने ब्यूरोले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४