जनकपुरधाम – भव्यताका साथ संविधान दिवस मनाउने निर्णयबाट प्रदेश २ सरकार आफै पछि हटेको छ।
गत भदौ १७ गते मुख्यमन्त्री लालबाबु राउतकै अध्यक्षतामा प्रदेशस्तरीय संविधान दिवस मूल समारोह समिति गठन भएको र समितिको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ २७ मा सूचना जारी गर्दै तीन दिवसीय कार्यक्रमका साथ संविधान दिवस मनाउन आह्वान गरेको थियो।
आन्तरिक मामिला तथा कानुनमन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार बिहीबार जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाइ तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने थियो। तर, संविधान दिवस मनाउन मन्त्रालयले आह्वान गरेको सरसफाइ कार्यक्रममा कर्मचारीहरु सहभागी भएपनि प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु भने सहभागी भएनन्।
संविधान दिवसको अवसरमा भएको पहिलो दिनको कार्यक्रममा मन्त्रीहरु नै सहभागी नुहुन दुःखद रहेको एक कर्मचारीले बताए।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको सरसफाइ कार्यक्रममा मन्त्रीहरु सहभागी नभएपनि निजमाती र स्थानीय तहका कर्मचारीहरुको भने उल्लेख्य संख्यामा उपस्थिति थियो।
प्रदेश २ सरकारको नेतृत्वकर्ता दल समाजवादी पार्टी नेपालले संविधान दिवसबारे तटस्थ बस्ने निर्णय गरेको छ भने सत्तासीन राजपाले भने विरोध दिवसको रुपमा मनाउने बताएको छ। संविधान दिवसको अवसरमा खुसियाली र विरोधमा ब्ल्याक आउट केही नगर्ने समाजवादी पार्टीको निर्णय छ । यसैगरी राजपाले भने संविधानप्रतिको असन्तुष्टि कायमै रहेको भन्दै ३ असोजमा 'ब्ल्याक आउट' गर्ने बताएको छ।
यद्यपि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले असन्तुष्टि कायमै रहेपनि संविधानबाट केही हदसम्म उपलब्धिसमेत हासिल भएकोले संविधान दिवस मनाउन समस्या नरहेको बताउँदै आएका छन्।
संविधान दिवसको तीन दिने कार्यक्रमअनुसार ३ असोजमा जानकी मन्दिरको प्राङ्गणबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्म प्रभातफेरी र अन्तिम दिन ४ असोजमा मधेश भवन परिसरमा सरसफाइ तथा वृक्षारोपण र मधेश भवन परिसरबाटै जानकी मन्दिरसम्म लागूऔषध दुव्र्यसनीविरुद्ध चेतनामूलक र्याली निकालिने कार्यतालिका रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४