काठमाडौं- गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापा धरौटीमा रिहा भएका छ्न्।
जिल्ला अदालत, काठमाडौंको आदेश बमोजिम उनी बुधबार एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नियन्त्रणमा लिएको थियो। भदौ २६ गते पक्राउ परेका उनीमाथिका अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसै मुद्दामा जोडिएका अन्य ६ जनालाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
आपराधिक लाभ र संगठित अपराधसम्बन्धी अभियोगमा थापासँगै पवन खड्का, सुरेन नगरकोटी बलामी, शैलेश प्रजापति, विनोद लामा, वीरबल भट्टराई र मनबहादुर पुन मगर पक्राउ परेका थिए ।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेलमा रहेका समीरमान बस्नेतसँग मिली फिरौती संकलनमा जोडिएको भन्दै नरेशसहित सात जनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा चलाएको हो।
बस्नेत अहिले केन्द्रीय कारागारमा थुनामा छन्। गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिकै गोली हानी हत्या भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४