सुर्खेत– कर्णाली सरकारले प्रदेशका सबै नागरिकको समूहिक दुर्घटना विमा गरेको छ ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बुधवार दुर्घटना विमा सम्झौता भएको छ।
प्रदेश सरकार र कम्पनीसँग सम्झौता भएसँगै यहाँका हरेक नागरिकको स्वत: दुर्घटना बिमा भएको छ । यसबाट कर्णालीका १७ लाख ७० हजार नागरिक लाभान्वित हुनेछन् ।
अबदेखि कुनै पनि नागरिकको प्राकृतिक प्रकोपबाट मृत्यु भएमा मृतकका परिवारले रु. एक लाख राहत पाउने छन् ।
बाढीपहिरो, भूक्षय, हिउँ, असिना, चट्याङ्ग र हावाहुरीबाट नागरिकको मृत्यु भएमा कम्पनीले मृतकका परिवारलाई राहत दिने छ ।
परिवारले राहत पाउनको लागि भने स्थानीय तह र प्रहरी प्रशासनले विपतबाट मृत्यु भएको भनेर सिफारिस गर्नुपर्ने छ ।
घरको समेत बीमात्यस्तै प्रदेश सरकारले कर्णालीका दश हजार जोखिमपूर्ण घरहरुको समेत विमा गरेको छ ।
जोखिमग्रस्त क्षेत्रका निजी आवासीय भवनको सम्पत्ति बीमा अन्तरगत घरहरुको बिमा गरिएको हो ।
घरहरुको बिमा गरेका परिवारले पनि आगलागी बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपबाट घरमा क्षति पुगेको खण्डमा रु. ५ लाख क्षतिपूर्ति पाउने छन् ।
घरहरुको विमा गर्नका लागि स्थानीय विपत् व्यवस्थापन र जिल्ला विपत् व्यवस्थापन समितिले सिफारिस गर्नुपर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै नागरिकलाई राहतको अनुभूति गराउन सामूहिक बीमा गरिएको बताए ।
बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। डिल्लीराज अर्यालले समाजवाद उन्मुख अर्थतन्त्रलाई टेवा पुर्याउन सामूहिक दुर्घटना बीमा सहयोगी हुने बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४