काठमाडौँ– जापानको टोक्योमा नेपाली कलाकार सुनैना ठाकुरको एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
भदौ २७ गतेदेखि सुरु भएको ठाकुरको मिथिला चित्रकला प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा महिला हिंसा, महिला सशक्तिकरण, शान्ति र समृद्धिलगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्रकला र केही हस्तकलाका सामग्रीहरु प्रदर्शनमा राखिएको जापानमा रहेकी कलाकार ठाकुरले जानकारी दिइन् ।
उनका अनुसार प्रदर्शनीमा १० वटा पेन्टिङ बुक भइसकेका छन् ।
यसअघि कलाकार ठाकुरले लोककलातर्फ राष्ट्रिय ललितकला पुरस्कार, अमेरिकाबाट कमन ग्राउण्ड अवार्डलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी छन् ।
अमेरिका, श्रीलङ्का, भारतमा समेत चित्रकला प्रदर्शनी गरिसकेकी ठाकुरले जनकपुरमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आएकी छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४