काठमाडौं - नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। निगमले यस्तो छुट अन्तर्राष्ट्रिय उडानमा भने दिने छैन। निजी वायुसेवा निगमले भने यस्तो छुट सुविधा दिन नसकिने बताउँदै आएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय केहि दिन अघि सार्वजनिक गरेका थिए । उनले हवाइ भाडा छुट दिने विषयमा अध्ययन गर्न एक समितिसमेत निर्माण गरेका छन्। छुटको निर्णय सरकारी स्वामित्वको निगमबाटै सुरु भएको छ।
छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ।
त्यसैगरी निगमले आजैदेखि दशैंको लागि अग्रिम बुकिङ पनि खुलाएको छ। निगमका अनुसार दशैंमा यात्रुलाई सहज सेवा दिने उद्देश्यले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४