काठमाडौं- नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज १० बाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
आफ्ना कार्यालय तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यस वर्ष ५, १०, २०, ५० र १०० दरका नोट प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रूपैयाँसम्म साट्न पाइने जनाएको छ । गत वर्ष प्रतिव्यक्ति अधिकतम २७ हजार रूपैयाँसम्म साट्न दिइएको थियो ।
दसैंमा संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघसंस्था लगायतलाई सम्बन्धित संस्थाको पत्रका आधारमा नयाँ नोट साटने व्यवस्था मिलाइएको छ।
नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रूपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४