काठमाडौं- संखुवासभाबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको जिप मंगलबार राति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्।
घटनास्थटलमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाका अनुसार को१ज ३७४९ नम्बरको जिप नदीमा खस्दा संगम श्रेष्ठ, पत्नी सदीक्षा राई श्रेष्ठ, छोरा समिर श्रेष्ठ, प्रमिश थापामगर, खबरमान बिठाकोठ र जिप चालक सन्तोष विक बेपत्ता छन्।
नदीको गहिरो खोँचमा जिप खसेकाले उद्दारमा समस्या भएको उनले बताए। उनले बेपत्ताको खोजीका लागि धादिङको कुरिनटारबाट गोताखोर मगाइएको जानकारी दिए।
जिप धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरमा राति करिब १० बजे नदीमा खसेको प्रहरीले जनाएको छ। अर्का जिप चालक प्रेमबहादुर तामाङले जिप खसेको जानकारी दिएपछि आफूहरूले घटनाबारे जानकारी पाएको प्रहरी नायब उपरीक्षक लामाले बताए।
जिप दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४