काठमाडौं - रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकारलाई तत्काल पुनर्बहाली गर्न नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै निष्कासनमा परेका डोटीका पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई तत्काल पुनर्बहाली गर्न माग गरेका हुन्।
रेडियो नेपालले केही दिनअघि उनीहरुलाई सेवाबाट निष्कासन गरेको थियो। रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए। आइतबार बेलुकीमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई डोटीका पत्रकार निकालिएको विषयमा ध्यानाकर्षण गराइएको स्मरण गराउँदै प्रवक्ता शर्माले यसबारे यथाशीघ्र निर्णयमा पुग्न कांग्रेसले सरकारलाई सार्वजनिक रुपले सचेत गराउन चाहेको उल्लेख गरेका छन्।
कांग्रेसले पत्रकार पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारहरुलाई गरिएको गिरफ्तारीको पनि विरोध गरेको छ।
‘सरकारी सञ्चारमाध्यममा डोटीमा कार्यरत तीन जना पत्रकारलाई पदमुक्त गरिएको घटनाविरुद्ध आवाज उठाइरहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका साथीहरुलाई केहीबेर अघि गरिएको गिरफ्तारीको नेपाली कांग्रेस भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
निष्कासित पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्रमा तालाबन्दी गर्दै नाराबाजीमा उत्रिएका नौ जना पत्रकार पक्राउ परेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४