आइतबार, चैत १९, २०७९

प्रम ओलीका समकालीन प्राध्यापक केआर खम्बू आत्मकथा लिएर आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं- झापा आन्दोलन ताका वर्तमान प्रम केपी ओली र उनका समकालीन कम्युनिष्ट नेताहरूसँग राजनैतिक सहयात्रा गरेका विर्थार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक लिएर आउने भएका छन्। खम्बु उभयचर र सरीसृप प्राणिमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक हुन्।

पब्लिकेसन्स नेपालयबाट प्रकाशित हुन लागेको खम्बूको आत्मकथामा उनको वैयक्तिक कथासँगै त्यसबेलाको सामाजिक र राजनैतिक परिवेशको चित्रण रहेको छ।

केही मानिसको जीवनकथा वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन्। प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् साथै उनी झापा आन्दोलनबाट शुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन्।

उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपाल, गोविन्द न्यौपानेहरूको संगतको किनारबाट अघि बढेको थियो।

पढाइकै क्रममा नेत्र ज्योति गुमाएका प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’ मा विगतका तिनै अविस्मरणीय क्षण र सम्झनालाई उधिनेका छन्। खुट्टामा जुत्ता नहुने पूर्वी पहाड खोटाङको बाल्यकालदेखि तराई झरेको तरूनो अवस्था र राजधानीको विद्यार्थी राजनीतिको सेरोफेरोमा उनको कथा घुमेको छ।

खम्बूले स्कुले जीवनदेखि नै तत्कालिन भूमिगत पार्टी ‘नेकपा माले’ को निकट रहेर राजनीति शुरु गरेका हुन्छन्। उनी संलग्न रहेको राजनैतिक पार्टीले उतिबेला विद्यालय, विश्वविद्यालयको पढाइलाई ‘बुर्जुवा’ शिक्षा भनेर महत्व दिँदैनथ्यो र ‘बुर्जुवा’ शिक्षा बहिस्कारको अभियान नै पनि चलाएको थियो तर खम्बूले पढाइप्रतिको आफ्नो मोहलाई त्यतिबेला पनि खस्किन दिएनन्।

त्यसैले उनको जीवन यात्रा क्रान्ति र प्रज्ञाको दोसाँध हुँदै अघि बढ्यो। एक समयपछि उनी सक्रिय राजनीतिबाट भने पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए।

पोस्ट–डक्टरेटको तयारी गर्दागर्दै अचानक उनका दुवै आँखा ज्योतिबिहीन बन्न पुगे। आँखाको दृष्टि गुमेपछि पनि खम्बूको ज्ञान आर्जनको मोह अझै साम्य भएको छैन। उनी अहिले पनि ल्यापटपको बोलिदिने सफ्टवेयरमार्फत् आफ्नो अध्ययनको क्षेत्रलाई फराकिलो बनाइरहेका छन्।

हाल मेची क्याम्पसमा प्राध्यापन गरिरहेका केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक पाठकसामु आउन लागेकोमा निक्कै उत्साहित छन्।

भन्छन्, ‘पुस्तक सार्वजनिक हुने खबरले म रोमाञ्चक भएको छु। आफ्नो जीवनको कथामार्फत् मैले मेरो परिवेश र उतिबेलाको समयको कथा बुनेको हुँ। आफ्नो कथा भन्दैगर्दा मेरा अगुवा र दौंतरीहरूको समय र कथा पनि जोडिएर आएका छन्। एउटा सामान्य मान्छेको संघर्षको कथालाई पाठकहरूले रुचाइदिनु होला भन्ने आशा छ।’

प्राध्यापक खम्बुको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोलेको छ। यसले एउटा राजनीतिक कालखण्डको सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ। प्राध्यापक खम्बूले आफ्नो जीवनको कथा लेखनमा सरल र रसिलो भाषाको प्रयोग गरेका छन्।

दशैं अगावै सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य हाललाई पाँच सय ४५ रुपैयाँ तय गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।