काठमाडौं- सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले ३४ मिनेट नाराबाजी गरेका छन्।
बाँके घटनाका विषयमा नेकपाका सांसदले प्रतिवाद गरेपछि कांग्रेसले संसद अवरुद्ध गर्दै नाराबाजी गरेका थिए।
सामान्यतः ५ वा १० मिनेट संसद अवरुद्ध भएपछि संसद स्थगित गर्ने चलन छ। तर सभामुख कृष्णबहादुर महराले सोमबार ३४ मिनेटसम्म अवरुद्ध संसदलाई जारी राखे।
त्यस अबधिमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए। नाराबाजी गर्दै थाकेका कांग्रेस सांसदहरुले आलोपालो गरी नाराबाजी गरे।
नाराबाजी भएको ३४ मिनेटपछि सभामुख महराले संसद असोज १ गतेसम्मका लागि स्थगित गरे।
नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा नेकपाका कार्यकर्ताहरुले हस्तक्षेप गरेका थिए। जसमा कांग्रेस बाँके जिल्ला सभापति किरण कोइराला घाइते भएकी थिइन्।
त्यसको विरोधमा आइतबार पनि कांग्रेसले संसद अवरुद्ध गरेको थियो।
आइतबार गृहमन्त्री रामबहादुर थापाले संसदमा जानकारी गराएपछि साँझ प्रहरीले किटानी जाहेरी दर्ता गरेको थियो। सोही आधारमा कांग्रेसले सोमबार संसद चल्न दिने तयारी गरेका थिए।
तर, नेकपाका सांसद नन्दलाल रोकाले घटना नेपाली कांग्रेसकै कार्यकर्ताले गरेको दाबी गरे।
सोमबारको संसदमा रोकाले नेकपाका कार्यकर्तालाई कारवाही भए आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए। उनले घटना छानविन समितिको माग गरे।
त्यसपछि कांग्रेसले संसदमा नारावाजी सुरु गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४