काठमाडौं- नेपाली कांग्रेसको जागरण अभियानमा सत्तारुढ नेकपाका कार्यकर्ताले ‘आक्रमण’ गरेको विषयलाई नेकपाका सांसदले खण्डन गरेका छन्।
बाँकेस्थित सीतापुरमा जागरण अभियान अन्तरगतको कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले प्रवेश गरी आक्रमण गरेको कांग्रेसको आरोप छ। सोही विषयमा आइतबार कांग्रेसले संसद अवरुद्ध गरेको थियो।
आइतबार साँझ किटानी जाहेरी दर्ता भएपछि सोमबार कांगे्रसले संसद चल्न दिने तयारी गरेको थियो। आइतबार नै गृहमन्त्री रामबहादुर थापाले संसदमा घटनाबारे जानकारी गराएका थिए।
तर, सोमबारको संसद बैठकमा नेकपाका सांसद नन्दलाल रोकाले उक्त घटना नेपाली कांग्रेसकै कार्यकर्ताहरुको कारणले भएको बताएका छन्।
किटानी जाहेरी दिएर नेकपाका वडा अध्यक्षमाथि कारवाही मान्य नहुने उनले बताए। रोकाले घटना छानविनका लागि समिति गठनको माग गरेका छन्।
उक्त घटनाका विषयमा कांग्रेसले आन्दोलन गरे नेकपाले पनि आन्दोलन गर्ने चेतावनी सांसद रोकाले दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेको छ। संसदमा कांग्रेस सांसदहरुले नारावाजी गर्दैछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४