सुर्खेत - स्थानीय तहको चुनावताका निःस्वार्थ सेवा गर्ने कसम खाएर मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधिमाथि स्वार्थी बनेका छन्। स्थानीय तहका जनप्रतिनिधि आफ्नो सेवा र सुविधाका लागि मात्र केन्द्रित छन्।
कर्णाली प्रदेशका स्थानीय तहमा त जनप्रतिनिधिको बेथिति धेरै छ। निर्वाचित भएको पहिलो वर्षमै तलबविना काम गर्न नसकिने अडान लिएका उनीहरु अहिले मासिक तलब खान्छन्। कतिपय जनप्रतिनिधिहरु भत्ता र अनेक सेवासुविधा लिन तछाडमछाड गरिरहेका छन्। कतिपय जनप्रतिनिधिले त भत्ता नपाएको भन्दै कामसमेत रोकेका छन्। एम्बुलेन्स किन्नसमेत आँट नगरेका अधिकांश जनप्रतिनिधिहरु आफू भने महँगो गाडीमा हुइँकिन्छन्।
यस्ता जनप्रतिनिधिको भीडमा कर्णालीमा केही उदाहरणीय जनप्रतिनिधि पनि छन्। जसले सुविधा नै त्यागेर निःस्वार्थ सेवा गरिरहेका छन्।
दलितकै सेवामा वडाध्यक्ष
मुगुको छायानाथ रारा नगरपालिका–४ का वडाध्यक्ष विष्णुबहादुर भामले आफूले पाउने मासिक तलब नगरभित्र बसोवास गर्ने दलित परिवारका सदस्यको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा खर्चेका छन्।
भामले २१ महिनाको चार लाख २० हजारबाट पहिलो चरणमा वडा नं १, २, ३, ४ र ५ मा रहेका दलित समुदायका बालबालिका र अभिभावकलाई लक्षित गरी शैक्षिक सामग्री, सरसफाइ र व्यक्तिगत आवश्यक सामान वितरण गरेका छन्। आफ्नो पाँचवर्षे कार्यकालभरि पाउने मासिक २० हजारका दरले हुन आउने कुल १२ लाख रुपैयाँ नगरपालिकाका १४ वडाभित्र रहेका ३६ दलित बस्तीका बालबालिका, महिला, अपांग, एकल, गरिब व्यक्तिको शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा खर्च गर्ने जनाएका छन्।
तलब जति बालबालिकाको संरक्षणमा
जाजरकोटको एक स्थानीय तहका जनप्रतिनिधिले आफूले पाउने तलबको केही हिस्सा अनाथ बालबालिकाको संरक्षणमा खर्चिएका छन्। छेडागाड नगरपालिकाका सबै जनप्रतिनिधिले अनाथ अपांग र जोखिममा परेका बालबालिकाको उद्धार, विकास र व्यवस्थापनका लागि २० लाखभन्दा बढीको अक्षय कोष स्थापना गरेका छन्। नगरपालिकामा एक हजार बढी बालबालिका अनाथ भेटिएपछिपछि जनप्रतिनिधिले तीन महिनाको तलब अक्षय कोषमा जम्मा गरेका हुन्।
कोषमा नगर प्रमुखको तीन महिनाको एक लाख २० हजार, उपप्रमुखको ९० हजार, वडाध्यक्षको सात लाख २० हजार कार्यपालिका सदस्यको दुई लाख ७४ हजार र वडा सदस्यको आठ लाख २८ हजार गरी २० लाख १४ हजार रकम रकम जम्मा गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए।
द्वन्दपीडितको हितमा थापा
दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफ्नो तलबभत्ता विपन्न विद्यार्थी, द्वन्द्वपीडित र बिरामीलाई बाँड्ने गरेका छन्। द्वन्द्वपीडिततर्फ वडा नम्बर ६ की बालकुमारी खड्कालाई छोराछोरी पढाउन ५० हजार र वडा नम्बर ५ की लक्ष्मी शाहीका छोरालाई चार्टर्ड एकाउन्टेन्ट अध्ययन खर्च ५० हजार दिएका छन्।
त्यस्तै औषधि उपचारतर्फ शारीरिक रुपले अशक्त वडा ३ का कालु खड्कालाई १० हजार र जिब्रोको क्यान्सर भएका वडा ७ की पार्वती खत्रीका पतिको उपचारका लागि २० हजार सहयोग गरेका छन्। दलित परिवारका जेहेनदार विद्यार्थीमध्ये वडा ७ का १० कक्षामा अध्ययनरत मंगल विकलाई १० हजार, वडा १ का हस्तराज अधिकारीका छोराछोरीको पढाइका लागि २० हजार र शिव मन्दिरमा खानेपानीको धारा निर्माण गर्न १० हजार सहयोग गरेका छन्।
अधिकांशको तलब विद्यार्थीलाई
हुम्लाको सर्केगार्ड गाउँपालिका–५ का अध्यक्ष कर्णजंग शाहीले पारिश्रमिक चार विद्यालयका दुई सय २० जना विद्यार्थीलाई साढे सात सयका दरले एक लाख ६५ हजार बराबरको पोसाक सहयोग गरेका हुन्।
त्यस्तै गरिब र जेहेनदार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन ५० हजारको अक्षय कोष स्थापनासमेत गरेका छन्। उनले वार्षिक रुपमा पारिश्रमिक २० प्रतिशतका दरले ४५ हजार ६ सय रुपैयाँ अक्षय कोषमै जाने जानकारी दिए। १९ हजार मासिक पारिश्रमिक पाउने अध्यक्ष शाहीको वार्षिक तलब दुई लाख २८ हजार हुन्छ। उनी आफूले पाउने पारिश्रमिकवाट सामाजिक क्षेत्रमा लगानी गर्ने अध्यक्ष शाही हुम्लाको पहिलो जनप्रतिनिधि हुन्।
यस्तै रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–३ का वडा अध्यक्ष चन्द्रबहादुर केसीले गाउँपालिकाका २५ जना गरिब र असहाय नागरिकलाई वितरण गरेका छन्। उनले ९ जना गरिब तथा विपन्न, ८ जना दीर्घरोगी, ४ जना टुहुरा र ४ जना अपांग नागरिकलाई दिएका हुन्। हुम्ला सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावलले सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिएका छन्। वीरेन्द्रनगर–३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले गरिब र जेहेनदार विद्यार्थी पढाउन विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। दुई वर्षको तलबबाट वडामा रहेका दुई वटा विद्यालयका लागि दश र पाँच लाखको अक्षकोष स्थापना गरेका हुन्।
सुर्खेतकै सिम्ता गाउँपालिका–३ का वडा सदस्य लोकबहादुर शाहीले तलबभत्ता विपन्न बालबालिकाको लागि खर्च गर्दै आएका छन्। उनले मासिक पाउने ५ हजार तलब आधारभूत विद्यालय झ्यामका विपन्न जेहेनदार तथा गरिब बालबालिकाका लागि २५ हजारको अक्षकोष स्थापना गरिदिएका छन्। सोही विद्यालयका जेहेनदार विद्यार्थी पवित्र जैसी र नवीन विकलाई समेत चार हजार रुपैयाँ दिएका छन्। यस्तै माध्यामिक विद्यालय लापुमा पनि उनले गरिब बालबालिकालाई छात्रावृत्ति दिन ५० हजारको अक्षयकोष स्थापना गरिदिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४