काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन्।
पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा आज नेकपा केन्द्रीय कार्यालय, धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौं, एकीकृत पार्टीले पनि त्यही भनेको छ। तर, यो काम कम चुनौतीपूर्ण छैन। चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ। तर, सात दशक लामो संघर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ।”
उनले अराजकता मच्चाउनेमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने संकल्प गर्न आवश्यक भएकाले अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गरे। अध्यक्ष प्रचण्डले भने, “हत्केलाले सूर्य छेक्न खोज्न सम्भव छैन। त्यो दुस्साहस मात्र हुनेछ। जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लागौं।”
अध्यक्ष प्रचण्डले नेता बोगटीले पार्टी नेतृत्व र नीतिलाई सधैं सहयोग गरेको स्मरण गरे।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता रहेको बताए। उनले त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताए।
तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्वसांसद् थिए। उनको निधन २०७१ भदौ ३० भएको थियो। कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचन लगायतले बोगटीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४