सोलुखुम्बु- प्रतिकूल मौसमका कारण तीन दिनदेखि हवाई सेवा प्रभावित भएपछि लुक्लामा तीन सय विदेशी पर्यटक अलपत्र परेका छन्।
खुम्बु क्षेत्रको भ्रमणमा आएका तीन सयभन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण, लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान भएन। शनिबार २५ उडान तालिकामध्ये पाँच वटा मात्रै उडान मात्रै भयो। आइतबार ३० वटा उडान तालिका भए पनि कुनै उडान भएन।
बाक्लो हुस्सुका कारण हेलिकप्टरले समेत उडान भर्न नसकेपछि समस्या भएको प्राधिकरणले जनाएको छ।
हवाई सेवा सञ्चालन हुन नसकेपछि निश्चित समय तालिका मिलाएर आएका पर्यटक मारमा परेका छन्। सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकले सबैभन्दा बढी हवाईसेवा प्रयोग गर्छन्।
सगरमाथा क्षेत्र नेपाल भ्रमणमा आउने पर्यटकको प्रमुख गन्तव्य मानिन्छ। यो मौसम सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बु घुम्न जान अनुकूल मानिन्छ। यो मौसममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल, लुक्ला आउने पर्यटकको चाप अत्यधिक हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४