काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ।
नेपालगन्ज विमानस्थलमा भएको घटनाबारे जानकारी दिन ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनबाट प्रहरीले उनलाई हिरासतमा लिएको हो।
पर्यटनमन्त्री भट्टराईले गत शनिबार बेलुका नेपालगन्ज-काठमाडौं रुटको बुद्ध एयरको विमान एक घन्टा विमान कुराएको भन्दै शाहीलगायत केही यात्रुले उनीमाथि आक्रोस पोखेका थिए। आफ्ना कारण उडान ढिला भएको भन्दै पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् माफीसमेत मागिसकेका छन्।
मन्त्री भट्टराईले पूर्वयुवराज पारस शाहविरुद्ध ७ लाख हस्ताक्षर बुझाएको भन्दै प्लेनमा आफूमाथि अपमान गरिएको बताएका थिए। मन्त्री भट्टराईले झुट बोलेको भन्दै यसबारे जानकारी गराउन शाहीले पत्रकार सम्मेलन राखेका थिए।
तर, पत्रकार सम्मेलनमा शाहीमाथि नै प्रहार हुन थालेपछि प्रहरीले उनलाई सुरक्षाका लागि भन्दै ललितपुर परिसर पुर्याएको थियो। र, त्यसलगत्तै उनलाई प्रहरीले पर्यटनमन्त्री अभद्र व्यवहार गरेको पक्राउ पूर्जी थमाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४