काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद अन्तरगतको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ।
कांग्रेसको जागरण अभियान अन्तरगत बाँकेमा नेकपाका कार्यकर्ताहरुहरुले ‘आक्रमण’ गरेको विरोधमा संसद अवरुद्ध गरेको हो।
कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको थियो। उक्त विषयमा गृहमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो नरहेको भन्दै संसद अवरुद्ध गरेको हो।
घटनाका विषयमा जवाफ दिने क्रममा गृहमन्त्री थापाले जागरण अभियानको उक्त कार्यक्रमका विषयमा स्थानीय प्रशासनलाई जानकारी नदिइएको बताए।
‘बाँके खजुरा १ सीतापुरमा नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान चलेको अवस्थामा हेमन्त थापा, लोकबहादुर शाहीलगायत ६ जनाले कार्यक्रममा होहल्ला गरी विथोल्ने प्रयास गरेको थियो।’ गृहमन्त्री थापाले भने,‘कांग्रेस नेता किरण कोइराला घाइते भएकोमा गृहमन्त्रालय दुःख व्यक्त गर्दछ।’
‘कार्यक्रमको पूर्व जानकारी प्रशासनलाई दिइएको थिएन। तर पनि प्रहरी पुगेर नियन्त्रणमा लियो।’ गृहमन्त्री थापाले भने, ‘निर्मल खत्री, रोशन सिंह ठकुरी, लोकबहादुर शाहीलाई २८ गते राती पक्राउ गरिएको छ। र, अन्यहरुको खोजी कार्य भइरहेको छ।’
घटनालाई राजनीतिकरण नगर्न आग्रहसमेत गृहमन्त्रीले गरे।
घटनामा संलग्न जोकोहीलाई नियन्त्रणमा लिइ कारवाहीका लागि सरकार गम्भीर रहेको उनले बताए।
कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित भएको घोषणा गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४