शुक्रबार, साउन २९, २०८३

सानो भयो सिटी बसपार्क : गाडी २० हजार, क्षमता एक सय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- वीरेन्द्रनगरमा २०५४ सालपछि सिटी बसपार्कको चर्चा सुरु भएको थियो। लामो प्रयासपछि सिटी बसपार्क पनि तयार भयो। अबको केही महिनाभित्र यो बसर्पाक सञ्चालनमा पनि आउँदैछ।

तर सञ्चालनमा नआउँदै वीरेन्द्रनगरमा बढ्दो सवारी चापलाई यो सिटी बसपार्कले थेग्न नसक्ने भएको छ।

निर्माण कार्यमा भएको ढिलाई र बढ्दो सवारी चापका कारण यो बसर्पाक निकै साँघुरो हुने भएको हो। बसपार्कको सम्भाव्यता अध्ययन र डीपीआर बनाउँदा सुर्खेतमा सवारी साधनको संख्या कम थियो। त्यही बेलाको सवारी साधनको चापलाई आधार मानेर यो बसपार्क निर्माण भयो। तर देश संघीयता गएसँगै अहिले वीरेन्द्रनगर कर्णालीको राजधानी बनेको छ।

प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा सवारी साधनको चाप पनि दोब्बर बनेको छ। सवारी साधनको चाप ह्वात्तै बढेपछि निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको सिटी बसपार्क पनि साँघुरो हुने भएको हो।

यो बसपार्क एक सय १० वटा बस अट्ने क्षमताको छ। निर्माणको काम सुरु गर्दा यहाँको सवारी साधनको चाप अनुसार यो ठिकै थियो। तर पटकपटक म्याद थपेर बल्लतल्ल निर्माणको काम सकिएको यो बसपार्कले अब भने गाडीको चाप थेग्न नसक्ने देखिएको छ। हाल वीरेन्द्रनगरमा विभिन्न १३ वटा यातायात समिति र प्रालि छन्। उनीहरुसँग हाल करिब एक हजार गाडी छन्। 

यातायात व्यवसायीका अनुसार दैनिक कम्तिमा पनि दुई सयभन्दा बढी गाडीले यो बसपार्क भएर आउजाउ गर्नेछन्। तर बसपार्कको क्षमता कम हुँदा समस्या हुने उनीहरुको चिन्ता छ। हाल अस्थायी बसपार्कबाट सेवा प्रवाह गरिरहेका यातायात व्यवसायीहरु वर्षौंपछि सुविधायुक्त सिटी बसपार्क निर्माण भए पनि साँघुरो हुने भएपछि खुशी छैनन्।

सुर्खेतमा अहिले २० हजार सवारी साधन छन्। चार हजार पाँच सय वर्गमिटर क्षेत्रफल रहेको यो बसपार्कमा ९० वटा ठूला बस र २० वटा मिनीबस गरी एक सय १० वटा गाडी अट्नसक्ने क्षमता रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ। 

निर्माणमा ढिलाई भएका कारण सुरुको योजनाअनुसार सवारी साधनको चापलाई थेग्न मुस्किल हुने नगरपालिकाले पनि स्वीकार गरेको छ। सिटी बसपार्क निर्माण गर्न भन्दै २०६८ सालको अन्त्यतिर वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत क्याम्पस (शिक्षा) र मध्यपश्चिमाञ्चल विश्वविद्यालय रहको स्थानको बीचको खुल्ला ठाउँबाट बसपार्क सञ्चालन गरेको थियो।

तर विद्यार्थीको अध्ययन/अध्यापनमा बाधा पुगेको भन्दै विरोध भएपछि हाल मंगलगढी चोक नजिक अस्थायी रुपमा बसपार्क सञ्चालन भइरहेको छ।

२०६८ देखि नै निर्माण थाल्ने भनिए पनि २०७२ सालको माघमा मात्रै निर्माणको काम अघि बढाइएको थियो। १५ महिनामा सक्नेगरी साढे ६ करोडमा चाङ्मिला/नरसिंह जेभीले निर्माणको ठेक्का लिएको थियो। 

उपत्यका नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाले ऋण तथा अनुदान सहयोगमा बसपार्कको काम अघि बढाइएको थियो। सिटी बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि अस्थायी टहरा, शौचालय, गार्डेन र ५६ वटा सटर निर्माण गरिसकेको छ। बसपार्कको व्यवस्थापन गर्न सटरहरुमा पसल सञ्चालन हुनेछन्। 

त्यस्तै यात्रुलाई बस्नका लागि बेग्लाबेग्लै टर्मिनल, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, शौचालय निर्माण गरिएका छन्। निर्माण सकिए पनि नगरपालिकालाई हस्तान्तरण गर्न भने अझै केही समय लाग्ने देखिएको छ। बसपार्क सञ्चालनका लागि नगरपालिकाले निजी क्षेत्रलाई भाडामा दिनेगरी टेण्डर थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल बताउँछन्।

यता यातायात व्यवसायीले पनि सिटी बसपार्क साँघुरो भएको बताउँछन्। बसपार्कमा १३ वटा यातायात व्यवसायीका गाडीहरु अट्न नसक्नै भन्दै तत्काल बैकल्पिक बसपार्ख खोज्नुपर्ने सुर्खेत काँक्रेविहार यातायात प्रालिका सञ्चालक रमेश सापकोटा बताउँछन्। 

सिटी बसपार्ककको एउटै भवनबाट २०/२५ क्षेत्रका यात्रुहरुलाई टिकट वितरण गर्न सम्भव नभएको उनको तर्क छ।

यस्तै व्यवस्थित बसपार्क नहुँदा ट्राफिक व्यवस्थापनमा समेत थप चुनौसत भएको छ। ‘बसपार्क सानो छ तर यहाँ दैनिक २ सय बढी गाडीहरु भित्रिन्छन्।’ ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिंजापति भन्छन् ‘ हाम्रो जिम्मा सडकमा हो तर यहाँ बसपार्कमै पुगेर दैनिक ड्युटी गर्नुपर्ने बाध्यता छ। गाडीहरुको पार्किङ्गस्थल अस्तव्यस्थ हुँदा दुर्घटना पनि बढेको उनको तर्क छ। 

सिटी बसपार्क सानो भएपछि वीरेन्द्र नगरनगरपालिकाले भने बैकल्पिक बसपार्क खोज्न थालेको छ। नगरप्रमुख देवकुमार सुवेदीले दिएको जानकारी अनुसार वीरेन्द्रनगर १ को बाङ्गेसिमल र वडा नं. ११ को सुब्बाकुना क्षेत्रलाई बसपार्क निर्माण गर्ने सम्भावित क्षेत्रका रुपमा अध्ययन गरिएको छ। प्रादेशिक बसपार्क बनाउने गरी नगरपालिकाले सम्भावित ठाउँको अध्ययन थालेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।