शुक्रबार, साउन २९, २०८३

तारे होटलका मेनुमा 'याङ्बेन’ र 'वाचिपा' !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- पाँचथरस्थित घरबाट बाहिरिएपछि प्रेम लिम्बूले आफ्नो मौलिक परिकार चाख्नै पाएनन्। पर्यटन तथा होटल व्यवस्थापनमा स्नातक गर्दासम्म पनि उनको जिब्रो घरको खाना सम्झेर रसाइरह्यो तर, तृप्त हुने अवसर जुरेन।

उनले होटेल व्यवस्थापन पढ्दै गर्दा विभिन्न स्थानका परिकार बनाउन, पस्किन, सजाउन सिके । लिम्बु स्वादका परिकार बनाउन र पस्किन पाएनन् । रहरचाहिँ गडेर रह्यो ।

गत वर्ष होटल व्यवसायी संघ इटहरीले आयोजना गरेको फुड फेस्टिभलमा उनले परम्परागत परिकार पस्किने सोच बनाए। बाल्यकालमा आफूले खाएको स्वाद अरूलाई राम्रो लाग्ला कि नलाग्ला भन्ने दोधारचाहिँ छँदै थियो। तैपनि उनले फेस्टिभल सहभागिता जनाए । उनको स्टलमा राखेको ‘याङ्बेन’ खानाका पारखीले रुचाए।



“इटहरी फुड फेस्टिबलमा याङ्बेन र सेर्गेम्बा राखेको थिएँ, सेर्गेम्बाभन्दा याङ्बेन धेरैले रुचाए,” प्रेम भन्छन्, “सुँगुरको मासु, लेकको रुखमा पाइने झ्याउ र अन्य मरमसला मिसाएर बनाएको याङ्बेन त्यति लोकप्रिय होला भन्ने सोचेकै थिइनँ,” उनी भन्छन्।

सुँगुरको आन्द्रामा किमा हालेर बनाइने सेर्गेम्बा र किरात राईको मौलिक परिकार वाचिपालाई पनि व्यावसायीकरण गर्न तम्सेका छन् उनी। भन्छन्, “किराँत संस्कृतिमा नहुर्किएकालाई पनि कुखुराको मासुमा भात, डढाएको कुखुराको प्वाँख र मरमसला मिलाएर बनाइएको वाचिपा मन परेको छ।”

मेनुमा मौलिक परिकार

“नेपाली खाना र खाजाहरुमा मौलिकता छैन”, लिम्बू भन्छन्, “नेपाली मौलिक खाना सबैलाई मन पर्छ तर, खै किन किन होटलका मेनुमा समावेश छैन।”

त्यसैले उनी परम्परागत किराँत परिकारको मेनु बनाउने तयारीमा छन्। “मेरो आफ्नै कुनै होटल, क्याफे र रिसोर्ट छैन”, इटहरीमा होटेल स्कुल सञ्चालन गरिरहेका लिम्बू भन्छन्, “सुरुमा परिकार पकाएर जानकारी दिने र त्यसपछि मेनु बनाउने सोचमा छु।”

बिहीबार याङ्बेल, सेर्गेम्बा र वाचिप्पा परिकारको भिडियो बनाए लिम्बूले। प्रदेश १ का मुख्य पर्यटकीय क्षेत्रका होटल जहाँ ननभेज खाना पाइन्छ, तिनका मेनुमा किराती परिकार अटाउनुपर्ने अभियानमा छन् उनी।

त्यस्ता परिकार बनाउन सजिलो होस् भनेर उनले भिडियो सामग्री पनि बनाएका छन्। “एउटा प्रोफेसनल कुकले परिकार बनाउने तरिकाको भिडियो देखाएपछि अरूले पनि त्यसबाट सिक्नेछन्,” उनी भन्छन्, “परिकार खाइसकेपछि स्वादले तान्छ, अनि क्रमशः मेनुमा पर्छ।” 

थारु समुदायले खाने घुँघीले धेरै होटलका मेनुमा स्थान पाएको बताउने उनी किराँती मेनुले पनि स्थान पाउनेमा आशावादी छन्। भन्छन्, “भेडेटारको लावती कर्नरमा वाचिपा र धरानको भोटेपुल क्षेत्रमा याङ्बेनको परिकार पाइन थालेको छ, अरू ठाउँमा पनि थपिँदै जाला।”

सुँगुरको मासु मन पराउनेलाई याङ्बेन, ससेज खानेले सेर्गेम्बा र फ्राइड राइस रुचाउनेले वाचिपा पनि मन पराउने उनको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।