पर्सा– कर छलीको अभियोगमा उदयपुर डिष्टिलरी प्रालि र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका सञ्चालक पक्राउ परेका छन् ।
शम्भुशरण प्रसाद कलवार र उनका भाई ओमप्रकाश कलवारलाई प्रहरीले वीरगञ्जबाट पक्राउ परेको हो ।
पर्साको रामगढवामा सञ्चालनमा रहेको उदयपुर डिष्टिलरी र पर्साकै पोखरिया नगरपालिका ३ वसन्तपुरमा संचालित जयश्री धौलागिरी डिष्टिलरी प्रालिले आन्तरिक राजश्व कार्यालय पर्साबाट लिएको अन्तशुल्क स्टिकर हिनामिना गरेको अभियोगमा पक्राउ परेका उनीहरुले रु. ३१ करोड ६५ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् ।
धरौटी रकम बुझाउन नसकेपछि दुवै उद्योगका सञ्चालकलाई थुनामा पठाइएको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए ।
जिल्लामा समाजसेवीका रुपमा पनि चिनिएका शम्भु प्रसाद कलवारले जिल्ला प्रहरी कार्यालयको प्रतीक्षालय, वीरगञ्ज भन्सार कार्यालयको प्रहरी चौकी, नारायणी अस्पताल निर्माण लगायतमा आर्थिक सहयोग गरेका छन् ।
तर उनीबाटै सञ्चालित मदिरा उत्पादक उद्योगले आन्तरिक राजश्व कार्यालय पर्साबाट खरिद गरेका ४४ लाख १५ हजार ३५७ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको प्रमुख कोइरालाले बताए ।
आर्थिक वर्ष २०७१⁄०७२ देखि २०७५⁄०७६ सम्म अन्तशुल्क स्टिकर हिनामिना गरी राज्यलाई कर छली गरेको अनुसन्धानमा देखिएको उनको ठहर छ ।
दुबै दाजुभाईको नाममा रहेको उदयपुर डिष्टिलरीले ०७१⁄०७२ देखि ०७५⁄०७६ सम्ममा ३६ लाख ६९ हजार ७४२ थान अन्तशुल्क स्टिकर हिनामिना गरी राज्यलाई ठगी गरेको पाइएको कोइरालाले जानकारी दिए।
त्यसैगरी जयश्री धौलागिरी डिष्टिलरीले ७ लाख ४५ ६१५ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ ।
दुवै उद्योगका सञ्चालकमध्ये ओमप्रकाश कलवारको नाममा रहेको उदयपुर डिष्टिलरीसँग रु.२६ करोड १६ लाख र शम्भु शरणको नाममा रहेको जयश्री धौलागिरीसँग रु.५ करोड ४८ लाख गरी कुल रु. ३१ करोड ६५ लाख कर छलीको अभियोगमा धरौटी माग भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४