जनकपुरधाम- प्रदेश– २ सरकारले ३ असोजमा संविधान दिवस मनाउने निर्णय गरेको छ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले संविधान दिवसलाई भव्य बनाउने निर्णय गरे पनि ३ असोज नजिकिँदै सरकारमा सहभागी दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच यसै विषयमा विवाद हुन थालेको छ।
सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टी संविधान दिवस मनाउने पक्षमा उभिएको छ भने सरकारमै सहभागी अर्को दल राजपाले भने संविधान दिवसमा विरोधको कार्यक्रम गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले संविधान दिवस मनाउने कुरामा कसैले आपत्ति गर्न नहुने बताएका छन्।
“हामीले अहिलेको संविधानलाई आलोचनात्मक ढंगले स्वीकार गरेका हौं,” नेपाल समयसँग मन्त्री यादवले भने, “यही संविधानबाट हामीले संघीयता र गणतन्त्रजस्ता उपलब्धिसमेत प्राप्त गरेका छौं। यही संविधानलाई टेकेर हामी प्रदेश सरकारमा पुगेका हौं। त्यसैले संविधान दिवस मनाउनुपर्छ। अझ संघीयतालाई बलियो बनाउन यो दिवस मनाउनु झन् जरुरी छ।”
सरकारकै केही मन्त्रीले संविधान दिवसको विरोध गरिरहेकोबारे उनी भन्छन्, “त्यो उहाँहरूको व्यक्तिगत धारणा हुन सक्दछ। तर, संविधान दिवस मनाउनमा मैले कुनै आपत्ति देखेको छैन।”
त्यस्तै प्रदेश– २ का आन्तरिक मामिला मन्त्री विजय यादव पनि प्रदेश मन्त्रिपरिषद्ले संविधान दिवस मनाउने निर्णय गरिसकेकाले अब यसबारे थप बहस आवश्यक नभएको बताउँछन्।
समाजवादी पार्टीका प्रदेश २ अध्यक्षसमेत रहेका मन्त्री यादवले भने, “क्याबिनेटले संविधान दिवस मनाउने निर्णय गरेको छ। कसैले यो निर्णयको विरोध गर्छ भने नैतिकताका आधारमा राजीनामा गर्नुपर्छ।”
सरकारकै मन्त्री भएर सरकारकै निर्णयको विरोध गरिरहने नपाइने उनको भनाइ छ।
संविधानका केही धारामा असन्तुष्टि रहे पनि आफूहरु संविधानको विरोधमा नरहेको भन्दै उनले संविधान दिवस मानाउन समस्या नरहेको बताए। यद्यपि, २९ भदौमा बस्ने पार्टी बैठकले संविधान दिवस मनाउनेबारे आधिकारिक र परिपक्व निर्णय गर्ने मन्त्री यादवले जानकारी दिए।
यता प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले २०७२ सालमा जारी संविधानलाई आफूहरूले अस्वीकार गरेको र त्यसमा हालसम्म कुनै हेरफेर नभएकोले संविधान दिवस मनाउन नसकिने बताएका छन्।
संविधानप्रतिको आफूहरुको सुरुवाती दृष्टिकोणमा कुनै परिवर्तन नभएको जानकारी दिँदै उनले भने, “‘दिवस भनेको स्मरणीय हुन्छ, हामीले संविधान घोषणा भइरहेको बेला सम्झँदा, त्यसबेला मधेसमा कर्फ्यू लागेको थियो, आन्दोलनकारीको टाउकोमा गोली प्रहार भएको थियो, सयौं मानिस हिरासतमा थिए। त्यसैले हामी असोज ३ लाई कालो दिवसका रुपमा सम्झने गरेका छौं।”
संविधान दिवस मनाउनेबारे मुख्यमन्त्रीले निर्णय गरेको भए पनि आफूलाई आधिकारिक जानकारी नरहेको उनले दाबी गरे।
चार वर्षअघि तत्कालीन संविधानसभा भवनबाट संविधान जारी भइरहँदा अहिलेको राजपा र समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) सडक संघर्षमा थिए।
त्यतिबेला जारी हुन लागेको संविधानले आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरूले मधेशमा ‘ब्ल्याक आउट’ गरेर ३ असोजलाई ‘कालो दिवस’ भनेका थिए। त्यसपछि भने दुवै दल त्यही संविधान टेकेर सरकारमा सहभागी भइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४