कञ्चनपुर- जिल्लाको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो ।
शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गएराति करीब १ बजेको समयमा आगजनी भएको प्रवक्ता सिंहले बताए ।
“मध्यरातमा आगो लगाएर फरार भएको देखिन्छ”, इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले भने “आगजनी गर्नेको खोजी भइरहेको छ ।”
वडा कार्यालयमा आगजनी
कञ्चनपुरकै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा पनि बिहीबार राति आगजनी भएको छ ।
प्रहरी चौकी बागफाँटाका अनुसार वडाध्यक्षको कार्यकक्षमा भएको आगजनीबाट केही कागजात र फर्निचर र अन्य सामानमा क्षति पुगेको छ ।
आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४