काठमाडौं– सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ।
उपाध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये तेस्रो वरियतामा रहेका प्राडा गिरीलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो। नवनियुक्त उपाध्यक्ष गिरी मन्त्री पोखरेल र नेकपा नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्।
समितिले गिरीसहित प्राडा सुरेन्द्र शेरचन र प्राडा शम्भुकुमार पहरीको नाम सिफारिस गरेको थियो । प्राडा गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पूर्व रजिष्ट्रार हुन् ।
विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जन पदमा कार्यरत छन् । डा गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् ।
गिरिराजमणि पोखरेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा मन्त्रालयको महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख रहेर उनले काम गरेका थिए । त्यस्तै उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजक पनि हुन् ।
चिकित्सा शिक्षा ऐन अनुसार शुल्क निर्धारण समितिको सदस्यका रुपमा समेत उनले काम गरेका छन्।
उपाध्यक्ष पदका लागि आवेदन दिएका नौ जनामध्ये साउन २८ र २९ गते अन्तर्वार्ता प्रस्तुतीकरणपछि तीन जनाको नाम सिफारिसमा परेको हो।
प्राडा गिरी, प्राडा शम्भुकुमार पहारी, प्राडा सुरेन्द्र शेरचन, प्राडा राजेन्द्रप्रसाद साह, प्राडा रमेशचन्द्र सिंह, प्राडा यहुनचन्द्र शिवाकोटी, प्राडा तरुण पौडेल, डा निलमणि उपाध्याय र प्राडा पारसकुमार पोखरेलले आवेदन दिएका थिए।
चिकित्सा शिक्षा ऐन प्रमाणीकरण भएको ६ महिनापछि आयोगले नेतृत्व पाएको छ । आयोगको कार्यकारी भूमिकामा रहने उपाध्यक्षको पदावधि बढिमा चार वर्षको हुनेछ।
आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्दछ ।
डाक्टर गोबिन्द केसीको आन्दोलन पश्चात् आयोग गठन भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४