काठमाडौं- राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले आज विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन् ।
अन्नपूर्ण दैनिकले लोक सेवा छलेर करारमा भर्ती शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारमा भनिएको छ- सरकारले लोक सेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्न लागेको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर, यसबारे लोक सेवा आयोगलाई जानकारी छैन ।
यस्तै, नागरिक दैनिकले गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ ।
समाचारमा भनिएको छ- गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रूपमा भेटघाट गरेको देखिएको छ । निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहका नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेल अनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको छ ।
कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपीन ओझाले तत्कालीन माओवादी कार्यकर्ता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले बस्नेतसँग भेट गरेको पुष्टि गरेका छन् ।
नयाँ पत्रिका दैनिकले भने राष्ट्रसंघ सेना-प्रहरीको आठ अर्ब रोकिएको सम्बन्धी समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४