प्रश्न : भालेले के गर्छ ?
जवाफ : ‘कुखुरी काँ’
‘कुखुरी काँ’ अर्थात् भालेको आवाज। जसलाई आम भासामा ‘भाले बास्ने’ भनिन्छ। त्यसो त भाले बास्नु स्वभाविक हो। तर सोच्नुहोस् यदि भालेले बास्न पाउने स्वतन्त्रताका लाग कानूनी लडाइँ लड्नपर्यो भने ?
वास्तबमै यस्तो भएको छ। फ्रान्सको एक अदालतले भालेलाई कानुनी हिसाबबाटै बास्ने अधिकार प्रत्याभूति गरिदिएको छ।
त्यो भालेको नाम मौरिस हो र उसको बासाई शहरी र ग्रामिण समुदायका व्यक्तिबीच तनावको कारण बन्यो। तर अब अदालतको फैसलापछि मौरिस भालेले मज्जाले बास्न पाउने भएको छ।
मौरिसको आवाजलाई लिएर झगडा तब सुरु भयो जब एक छिमेकीले उसको मालिलाई बिहान भालेका कारण हुने हल्लाका कारण अदालतमा उपस्थित हुन बाध्य पारे।
चार वर्षको मौरिस भाले फ्रान्सको ओलोनमा बस्छ। ओलोन त्यस्तो क्षेत्र हो जहाँ फ्रान्सका शहरबासीहरुले आफ्नो आराम गर्ने अर्को घर किन्न तछाँडमछाड गरिरहेका छन्।
तिनै मध्ये एक ज्यान लुई बिहोनलाई भालेको आवाजले झ्याउ लाग्न थाल्यो। उनले मौरिसका मालिक ज्याकी र उनकी पत्नि कोहिनाविरुद्ध मुद्दा दायर गरे।
भालेको डाको राष्ट्रिय बहसको मुद्दा
सन् २०१७ मा लुईले आफ्ना छिमेकीलाई पठाएको पत्रमा लेखेका थिए, ‘यो भाले बिहान ४ बजेदेखि नै बास्न सुरु गर्छ र पुरै बिहानभरी बासिरहन्छ। यसको आवाज दिउँसो पनि बन्द हुँदैन।’
जब मौरिस नामक भालेका मालिकले भालेलाई कराउन रोक्नेबारे लगातार इन्कार गरे तब लुई अदालतमा गए। त्यसपछि उक्त मुद्दा फ्रान्समा राष्ट्रिय बहसको विषय बन्यो।
फ्रान्समा धेरै मानिसहरुलाई भालेलाई सहानुभूति प्रदान गरे। र उसको बास्न पाउने अधिकारको रक्षाका लागि अभियानहरु चलाउन थाले।
यतिमात्र होइन मौरिस र उसको आवाजको समर्थनमा एकलाख ४० हजार हस्ताक्षर जुटाईयो र उसको तस्बिर भएका टी सर्टहरु लगाउन थालियो।
मौरिसको समर्थक र उसको तस्बिर भएको टी सर्ट बेच्ने एक स्थानीय कारोबारीले भने, ‘हामीले मौरिस र उसका मालिकको समर्थन गर्नुपर्छ। साथै हामीलाई यस्तो डर थियो कि मान्छेहरुले भोलि भालेमाथि अत्याचार गर्नेछन्।’
‘असहिष्णुताको हद’
मौरिसको समर्थनमा अनलाईन सहयोग माग्ने व्यक्तिले भने, ‘अब के मान्छेहरुले चराहरुको चिरबिरचिरबिरलाई पनि रोक्लान् ?’
लुईका वकिलले शान्ति भंग गरेको आरोपमा मौरिस भालेका मालिसँग अदालतले ठूलो क्षतिपूर्ति दिलाईदियोस्। तर अदालतले भालेको पक्षमा फैसला सुनाईदियो।
यतिमात्र नभई अदालतले उल्टै लुईलाई भालेको मालिकलाई तनाब दिएको भन्दै १ हजार १ सय डलर जरिबाना तिर्न आदेश गर्यो।
मौरिसकी मालिक कोहिनाले अदालतको फैसलाप्रति खुसी व्यक्त गरेकी छन्।
भालेलाई बास्न दिने अधिकारको यो विषय फ्रान्समा एउटा भाइरल विषय बनेको थियो। आगामी अक्टोबरमा यस्तै केही विषयमा सुनुवाई हुँदैछ । जसमा हाँस तथा सारसहरुले निकै ठूलो आवाज निकालेको भन्दै अदालतमा दायर भएका मुद्दाहरु छन्।
यतिमात्र नभई फ्रान्समा चर्चको घण्टी र गाईको आवाजका विषयमासमेत कानूनी लडाईहरुको विषय चर्चामा आएको थियो। बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४