काठमाडौं- जनगणना २०६८ अनुसार ८१.३ प्रतिशत नेपाली हिन्दू छन्। जनगणना भएको ८ वर्षपछि यो संख्यामा केही फेरबदल भएको छ।
ठूलो जनसंख्या हिन्दू हुँदाहुँदै पनि पुनर्स्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो। त्यसलाई अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ ले निरन्तरता दियो। दलहरूकै सहमतिमा धर्म निरपेक्ष राष्ट्र कायम भएको हो।
अन्तरिम संविधान २०६३ घोषणा हुँदा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने २०७२ को संविधान पनि कांग्रेसकै तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला जारी भएको हो।
कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर भन्छन्, ‘गिरिजाप्रसाद कोइराला सभापति हुँदा पार्टीले नेपाललाई धर्म निरपेक्ष बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कांग्रेसको नेतृत्वमा संविधान जारी भयो र देश धर्म निरपेक्ष बन्यो।’
यतिबेला कांग्रेसभित्र हिन्दू राष्ट्र पुनर्स्थापनाका पक्षमा आवाज उठिरहेको छ। कतिपय शीर्ष नेता नै हिन्दू राष्ट्रका पक्षमा खुलेर लागेका छन्।
००
कांग्रेस नेतृत्वमा हिन्दू

संघीय संसद्को दुवै सदनमा गरी कांग्रेसका ७६ सांसद छन्। जसमा २ जना इस्लाम धर्मावलम्बी छन्। बौद्ध धर्मावलम्बीको संख्या पनि न्यून छ। औसतमा ९० प्रतिशतभन्दा बढी कांग्रेसका सांसद हिन्दू रहेको स्पष्ट छ।
पार्टी केन्द्रीय समितिमा पनि यस्तै अवस्था छ। ८३ केन्द्रीय सदस्य, एक विशेष आमन्त्रित र सात आमन्त्रित केन्द्रीय सदस्य गरी कांग्रेसको ९१ सदस्यीय केन्द्रीय समिति छ।
केन्द्रीय समितिमा तीन जनामात्र इस्लाम धर्मावलम्बी छन्। बौद्ध र अन्य धर्म मान्नेको संख्या पनि न्यून छ। कांग्रेस केन्द्रीय समितिमा पनि ९० प्रतिशतभन्दा बढी हिन्दू छन्।
यस्तै आठै पदाधिकारी हिन्दू हुन्।
००
कांग्रेसभित्र हिन्दू राष्ट्रको एजेन्डा
धर्म निरपेक्ष राष्ट्र घोषणापछि स्व.नेता खुमबहादुर खड्कालगायतले हिन्दू राष्ट्रका पक्षमा अभियान चलाए। तर नेतृत्वले त्यसमा बेवास्ता गर्यो। खड्का र हिन्दू राष्ट्रका पक्षमा कुरा गर्नेसँग नेतृत्वले नराम्रो व्यवहार गरेको सम्झिन्छिन् केन्द्रीय सदस्य पुष्पा भुसाल।
‘पार्टीभित्र हिन्दू राष्ट्रको कुरा उठाउन गाह्रो थियो। अहिले पार्टीमा हिन्दू राष्ट्रको माग संस्थागत भइसकेको छ’, भुसालले भनिन्।
पुसमा काठमाडौंमा सम्पन्न महासमिति बैठकमा करिब ७ सयले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए। जसको नेतृत्व शंकर भण्डारीलगायतले गरेका थिए।
नेता भण्डारी भन्छन्, ‘ हिन्दू राष्ट्रको कुरा महासमिति हुँदै अहिले केन्द्रीय समितिमा बलियो ढंगले उठेको छ। कांग्रेसका दुई तिहाईभन्दा बढी नेताकार्यकर्ता हिन्दू राष्ट्रका पक्षमा छन्।’
नेतृ भुसाल भन्छिन्, ‘पहिले पार्टीको तल्लो तहमा मात्र हिन्दू राष्ट्रका पक्षमा आवाज उठ्थे। त्यसलाई नेताहरुले ध्यान दिएका थिएनन्। अहिले केन्द्रमै उठ्न थालेको छ। अब यसबारे गम्भीर बहस हुनु जरुरी छ।’
केन्द्रीय समितिमा तीन जनामात्र इस्लाम धर्मावलम्बी छन्। बौद्ध र अन्य धर्म मान्नेको संख्या पनि न्यून छ। कांग्रेस केन्द्रीय समितिमा पनि ९० प्रतिशतभन्दा बढी हिन्दु छन्।
असार २२ देखि भदौ १६ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा पनि हिन्दू एजेन्डा उठाइयो। औपचारिक एजेन्डा नभए पनि हिन्दुका विषयमा नेताहरु दुई धारमा विभाजित भए। बैठकमा कतिपय नेता भने मौन बसे।
००
को–कता?

पछिल्लो समयमा महामन्त्री शशांक कोइरालाले विभिन्न मञ्चबाट हिन्दू राष्ट्रका पक्षमा खुलेरै बोल्न थालेका छन्।
महामन्त्री शशांक मात्र होइन केन्द्रीय सदस्य शेखरसहित कोइराला परिवार हिन्दू राष्ट्रका पक्षमा देखिएको छ।
केन्द्रीय समिति बैठकमा नेताहरू प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी साउद, शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, अजय चौरसिया, शिला खड्कालगायतले हिन्दू राष्ट्रका पक्षमा वकालत गरे।
‘गिरिजाप्रसाद कोइराला सभापति हुँदा पार्टीले नेपाललाई धर्म निरपेक्ष बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कांग्रेसको नेतृत्वमा संविधान जारी भयो र देश धर्म निरपेक्ष बन्यो।’
हिन्दू राष्ट्रको एजेन्डालाई औपचारिक रुपमा पार्टीभित्र छलफल गरेर तल्लो तहसम्म लैजानुपर्ने माग उनीहरूको थियो।
यसमा केही पदाधिकारी र सदस्यहरुले विरोध पनि गरे भने केही मौन रहे।
कतिपयले पार्टी निर्णयअनुसार नै संविधानमा धर्म निरपेक्षता कायम गरिएको भन्दै अब पछि हट्न नमिल्ने तर्क गरे। धर्म निरपेक्षताका पक्षमा उपसभापति विमलेन्द्र निधि सशक्त देखिए।
निधिलाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, युवा नेता गगन थापा, फर्मुल्लाह मन्सुर, बहादुरसिंह लामालगायतले समर्थन गरेका थिए।
००
अन्य एजेन्डा थाती राखेर धर्ममै किन ?
कांग्रेसकै नेताहरू पार्टीले प्रतिपक्षीको भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको स्वीकार्छन्।
‘कांग्रेस शीर्ष नेतृत्वबाटै असफल भयो। शीर्ष नेतृत्वको भूमिका चाहिने जति भएन’, युवा नेता प्रदीप पौडेलले भने। उनका अनुसार कांग्रेसको शीर्ष नेतृत्वबाट कुनै एजेन्डा आएको छैन भने प्रतिपक्षी भूमिका पनि कमजोर देखिएको छ।
कतिपयको बुझाइ के छ भने, नयाँ एजेन्डा ल्याउन नसकेकै कारण कांग्रेसले जागरण अभियानमार्फत जनतामाझ जाने प्रयास गरेको छ।
यस्तै कांग्रेसले ‘हिन्दू कार्ड’ देखाएर आगामी चुनाव आफ्नो पक्षमा पार्ने रणनीति अपनाएको चर्चा पनि राजनीतिक वृत्तमा हुन थालेको छ।
तर यसमा नेतृ भुसालको विमति छ। ‘कांग्रेससँग धेरै एजेन्डा छन्। सरकारकै अधिनायकवाद र असफलतालाई उठाएर हामीले जनतालाई जगाउन सक्छौं,’ भुसालले भनिन्, ‘भोटका लागि हिन्दू राष्ट्रको एजेन्डा उठाएका छैनौं। हिन्दू राष्ट्र सभ्यताको कुरा हो। धार्मिक स्वतन्त्रताअन्तर्गत यो बलियो एजेन्डा रह्यो।’
हिन्दू इतर नेताको भनाइ फरक छ। केन्द्रीय सदस्य बहादुरसिंह लामा भन्छन्, ‘कतिपयलाई लाग्न सक्छ– पार्टी बलियो बनाउन, निर्वाचनमा भोट माग्न हिन्दू राष्ट्रको मुद्दा उठाउनुपर्छ। तर, त्यस्तो गर्नु भूल हुनेछ।’
‘जनताले हिन्दू राष्ट्रको मुद्दा उठाउने दललाई भोट दिएको भए अहिले कमल थापाहरू सबभन्दा ठूलो पार्टी हुने थिए। हिन्दुको विरोध गर्दै आएका कम्युनिस्टहरु पत्तासाफ हुने थिए’, लामाले भने, ‘सबै हिन्दूले हिन्दूकै नाममा भोट दिँदैनन्। त्यसकारण हिन्दू कार्ड उचाल्नु उपयुक्त होइन।’
नेता शंकर भण्डारी भने अब हिन्दू राष्ट्रको एजेन्डा कसैले रोक्न नसक्ने बताउँछन्। उनी भन्छन्, ‘जनताले उठाइरहेको विषयलाई हामीले छोड्नु हुँदैन। हिन्दू राष्ट्रको कुरा सबै नेपालीको मनमा छ। हामीले रोक्दैमा रोकिँदैन।’
००
महाधिवेशनमा ‘हिन्दू कार्ड’

कांग्रेस १४ औैं महाधिवेशनको तयारीमा छ। महाधिवेशनमा उम्मेदवार बन्नेहरु आ–आफ्ना एजेन्डा र रणनीति तय गर्न व्यस्त छन्।
महाधिवेशनमा पनि ‘हिन्दू कार्ड’ प्रयोग हुन सक्ने केन्द्रीय सदस्य लामा बताउँछन्।
सभापति शेरबहादुर देउवा निकटका नेता महाधिवेशन केन्द्रित कार्यक्रममा हिन्दू राष्ट्रका पक्षमा खुलेर बोल्न थालेका छन्। देउवा निकट कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संसद्मै हिन्दू राष्ट्रका पक्षमा वकालत गरेका छन्।
पार्टी सभापति देउवा पनि 'हिन्दू राष्ट्र'प्रति नरम देखिन थालेका छन्। उनले मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग हिन्दू राष्ट्रबारे बहस र छलफल गर्न मिल्ने बताएका थिए।
केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर भन्छन्, ‘कतिपयलाई महाधिवेशनमा ध्रुवीकरण गर्नुपर्नेछ होला। लोकतान्त्रिक पार्टीमा सबैले छलफल गर्न पाउनुपर्छ। तर, हामीले व्यक्तिको विचारभन्दा पनि पार्टीको निर्णय र नीतिमाथि विश्वास गर्नुपर्छ।’
नेतृ भुसालले महासमिति र केन्द्रीय समितिमा उठेको हिन्दू राष्ट्रको कुरा महाधिवेशनमा उठ्नु स्वाभाविकै भएको बताइन्।
००
गणतन्त्रमाथि खतरा ?
‘हामीले कुनै निरंकुशतन्त्र र राजा ल्याउने कुरा गरेका छैनौं’, नेता भण्डारीले भने, ‘हिन्दू राष्ट्रको कुरा मात्र गरेका छौँ। त्यसकारण गणतन्त्र खतरामा पर्ला भन्नु गलत हो।’
भण्डारीकै समर्थनमा नेतृ भुसालले भनिन्, ‘हामी अधिनायकवादविरुद्ध लडेका छौँ। लोकतन्त्रका लागि लडेको पार्टी हो। त्यसकारण गणतन्त्र समाप्त पार्ने काम हुँदैन।’
तर, नेता लामाले हिन्दू राष्ट्र पुनर्स्थापना भए बिस्तारै अन्य पक्ष पनि सलबलाउन थाल्ने आशंका व्यक्त गरे।
नेता मन्सुर भने धर्म निरपेक्षताकै पक्षमा छन्। उनले भने, ‘लोकतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षता हाम्रो मूल मन्त्र हो। त्यही कांग्रेको नीति र निर्णय हो। त्यसमा सबै अडिग छौं। हिन्दू राष्ट्रको कुरा उठाएर सबै कुरा उल्ट्याउने प्रयासलाई सफल हुन दिनु हुँदैन।’
००
हिन्दु कार्डको असर
हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्ने माग राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाउँदै आएको छ। पछिल्लो समयमा हिन्दूवादी र राजावादीहरुबीच ध्रुवीकरण पनि भएको छ।
पूर्वराजा निकटहरुले सञ्चालनमा ल्याएको मातृभूमिका लागि नेपालीलगायतका अभियान पनि हिन्दू राष्ट्रका पक्षमा छ। उनीहरू ढोकाबाट हिन्दू कार्ड प्रवेश गराएर झ्यालबाट राजतन्त्र ल्याउने प्रयासमा रहेको बुझाइ कतिपयको छ।
यस्तो अवस्थामा कांग्रेसभित्र हिन्दू पक्षधर बलियो रुपमा अगाडि आउँदा राजावादीलाई सहयोग हुने देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४