बिहीबार, साउन २८, २०८३

कता हराए दश हजार बालबालिका ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बिहीबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित बालबालिका खोजतलास केन्द्र पुग्दा नुवाकोट छहरेकी भवानी सुन्दास छोरी हराएको निवेदन दर्ता गराउँदै थिइन्। 

नौ कक्षामा पढ्ने उनकी १५ वर्षीया छोरी निर्जला २६  साउनदेखि बेपत्ता छिन्। 

निर्जला र उनका दाजु स्थानीय जन ज्ञाननिकेतन उच्च माविमा पढिरहेका थिए। ७ किलोमिटर टाढाको स्कुल जानआउन टाढा भएपछि उनीहरु स्कुल नजिकै कोठा भाडा लिएर बसेका थिए। त्यसदिन दाजु कोठामा बसिरहेका थिए भने बहिनी आँगनमा बसेर कपाल कोर्दै थिइन्। आँगनबाटै हराएकी बहिनी अहिलेसम्म आएकी छैनन्।
 
बाँके कोहलपुर–७ का १२ वर्षीय सुनिल वली मंगलबार ललितपुरको ग्वार्कोमा भौतारिरहेका थिए। उनकी आमा फोक्सोको क्यान्सरका कारण चार वर्ष अगाडि वितेकी रहिछन्। त्यसभन्दा अगाडि नै मजदुरी गर्न भारत गएका बाबु अझै फर्केका छैनन्। घरमा अभिभावक कोही नभएपछि यत्तिकै भौंतारिएका सुनिल एक दिन कोहलपुर चोकबाट पूर्वतर्फ लाग्ने बसमा चढे। त्यो बसले काठमाडौं ल्याईपुर्‍याएछ।

बालबालिका खोजतलास केन्द्रले सडकमा विनासित्ती भौंतारिइरहेका सुनिलको उद्धार गर्यो। अहिले केन्द्रले उनको पुनर्स्थापनाको लागि पहल गरिरहेको छ।

बालबालिका खोजतलास केन्द्रको हटलाइन १०४ मा दैनिक औसत ७ जना बालबालिका हराएको उजुरी पर्छ। तर, निकै कममात्रै फेला पर्छन्। केन्द्रको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा १९ हजार २७७ जना बालबालिका हराएका छन्।  ति मध्ये ८ हजार ६८१ बालबालिका फेला परेका छन्।
 
हराएका  १० हजार ५९६ जना बालबालिकाको कहाँ पुगे, कसैलाई थाहा छैन। अर्थात हराएकामध्ये ५५ प्रतिशत बालबालिकाको अवस्था अज्ञात छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई समेत हराएका बालबालिका कहाँ गए होलान भन्ने अनुमानसम्म छैन।
 
बालबालिका खोजतलास केन्द्रका प्रमुख, प्रहरी निरीक्षक मोहनविक्रम दाहालका अनुसार बालबालिका हराएपछि पीडामा रहेका अभिभावक तत्काल प्रहरी लगायत विभिन्न संस्थामा उजुरी दिन पुग्छन्। तर, भेट्टिएपछि भने उनीहरुले त्यसको सूचना कतै नदिने कारण हराएका बालबालिकाको संख्या ठूलो देखिने गरेको बताउँछन्।
 
दाहालका अनुसार आर्थिक वर्ष २०७५/७६ मा हराएका ३ हजार ४२२ जना बालबालिका खोज्दै जाँदा तीमध्ये ३७५ जना अभिभावकले भेट्टाइसकेका रहेछन्। “तर, हामीसम्म भेट्टिएको जानकारी नआइपुगेकाले हामीले ती बालबालिकालाई हराइरहेकै सूचीमा राखेका थियौं,” दाहाल भन्छन्। 

दाहालकै अनुसार सामाजिक, आर्थिक कारणले घर छोडेर हिंडेका बालबालिका भेट्टिए पनि पुनः घरमा फर्कन नचाहँदा पनि हराएका बालबालिकाको संख्याको सूची ठूलो हुने गरेको छ। 

कस्ता बालबालिका बढी हराउँछन ?

बालबालिका खोजतलास केन्द्रका अनुसार परिवार बालबालिका अनुकुल नभएका, अभिभावक गुमाएका, चर्को गरीबीको मार भोगिरहेका बालबालिकाले घर छोडेर हिंड्ने गरेको देखिएको छ।

त्यस्तै सौतेनी आमा–बुवाको तिरस्कार, अभिभावक विदेशमा रहेका बालबालिका पनि घरबाट निस्कने गरेको पाइएको छ। केही त साथीभाइको लहलहैमा लागेर घरबाट हिंडने गरेको पनि देखिन्छ। 

बाल श्रमिकहरु, विद्यालय जाने बानी नभएका, सुस्तमनस्थितिका र कडा अनुशासनमा रहनुपर्ने वाध्यता रहेका बालबालिका पनि हराउने गरेका केन्द्रको तथ्यांकले देखाउँछ। 

घरेलु हिंसामा परेका, सामाजिकरुपमा तिरस्कृत परिवारका बालबालिका, सभा–जुलुसमा प्रयोग गरिएका बालबालिका पनि अभिभावकको अनुमतिबिना बाहिर निस्कने र सडकमै आइपुग्ने गरेका छन्। 

‘बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र सम्वर्द्धन गर्न’ गठित राष्ट्रिय बालअधिकार परिषद्ले भने बालबालिका यसरी हराउनुलाई सामान्यरुपमा लिएको देखिन्छ।
 
ठूलो संख्यामा हराएका बालबालिकाको अवस्थाबारे नेपाल समयले प्रश्न गरेपछि परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुषालले भनिन्, “त्यसको एकिन तथ्याङ्क हाम्रो जानकारीमा छैन।  बालबालिका खोज्ने जिम्मा परिषद्को मात्र होइन, मिडियालगायत समाजका हरेक निकायको हो।”

उनले बालबालिका हराएको सूचना कसैले दिएमा परिषद्ले खोजीका लागि पहल गर्ने पनि बताइन्।

हराएका बालबालिका झन् जोखिममा
 
हराएका अथवा घर छोडेर बेवारिसे बनेका बालबालकिालाई चोरी तथा अपराधिक क्रियाकलापमा संलग्न गराइएको पाइएको खोजतलास केन्द्रकै अनुसन्धानबाट खुलेको छ। 

त्यस्तै घर छोडेर निस्केका बालबालिकाहरु लागू पदार्थको ओसारपसार, यौनजन्य क्रियाकलाप, मानव अंग तस्करी गर्ने गिरोहको फन्दामा परेको हुनसक्ने पनि केन्द्रको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
 
उनीहरुलाई जोखिमयुक्त श्रममा प्रयोग गरिने, आपराधिक क्रियाकलाप संलग्न गराइने र भारतमा सर्कस र यौन व्यापारका लागि बिक्री गरेको पनि पाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।