काठमाडौं- सुडान घोटाला काण्डमा दोषी ठहर भई फरार रहेका एक ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले फरार रहेका ठेकेदार शम्भु भारतीलाई पक्राउ गरेको हो। भारतीलाई शुक्रबार पक्राउ गरेको सिआइबीले जनाएको छ ।
सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो ।
भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने सीआइबी स्रोतले जनाएको छ।
नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर थियो। आयोगले मुद्दा दायर गरी करिब ४४ करोडको खरिदमा २९ करोड अनियमितता जनाएको थियो।
अदालतले सुडान घोटाला काण्डमा उनीसहित पूर्वआइजिपीहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीलगायत ३६ जनालाई दोषी ठहर गरेको थियो । तीमध्ये केहीले कैद सजाय भुक्तान गरी रिहा भइसकेका छन् । त्यस्तै, पूर्वडिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्।
दोषी ठहर भएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले केही समयअघि मात्रै सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए। उनलाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४