काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारका कारण जनतामा निरासा छाएको निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकार गठन भएको डेढ वर्षमा पनि केही काम गर्न नसकेको र आरोप लगाइएको छ । प्रतिवेदनमा पछिल्लो डेढ वर्षमा संस्थागत भ्रष्टाचार, राज्यका संरचनाहरूको दुरुपयोग र राजनीतिकरण, महँगी, हत्या, बलात्कार जस्ता अपराधिक क्रियाकलाप बढेको कांग्रेसले निष्कर्ष निकालेको छ ।
राजनीतिक प्रतिवेदनमा सरकार संविधानको मर्म र मान्यतालाई उल्लंघन गर्ने क्रियाकलापमा लागेको कांग्रेसको ठहर छ । ‘सरकारको असफलता र कमजोरीलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रूपमा चित्रण गर्ने सुनियोजित क्रियाकलापप्रति समयमै सचेत हुनुपर्छ,’ प्रस्तावमा उल्लेख छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मुलुकका धर्मसंस्कृतिमाथि सरकारले प्रहार गरिरहेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ‘नेपाली जनताले लामो संघर्षबाट प्राप्त अधिकारलाई खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वस्फूर्तरूपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनाहरू ध्वस्त पार्ने कोसिस भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
राजनीतिक प्रस्तावमा संविधानमा समावेशी र समानुपातिक सिद्धान्तअनुसार लोक सेवाको विज्ञापन नगरेको विषयमा पनि आपत्ति जनाइएको छ ।
बैठकमा कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमुल्लाह मन्सुर, सु्जाता कोइराला, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले राजनीतिक प्रस्तावमा शमावेश भएका विषयमा आ–आफ्नो घारणा राखेका थिए ।
यो प्रस्ताव कांग्रेसले जारी बैठकबाट पास गर्नेछ ।
कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार ११ बजे पुनः बस्दैछ । बैठकमा भ्रातृ तथा शुभेच्छुक संगठनका विधानबारे छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४