सोमबार, चैत २, २०८२

गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- भाद्र कृष्ण औँशीका दिन आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ । 

 बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भए पनि बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिए । विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा दर्शन एवं परिसरमा श्राद्ध गर्ने व्यवस्था मिलाउन सकिएको उनले बताए ।
  
पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा देशका विभिन्न भागबाट आएका भक्तजनको बिहीबारदेखि भीड लागेको मन्दिरका पुजारी भट्टले बताए । कति भक्तजन बिहीबार बेलुकी नै मन्दिर परिसरमै आई बसेका थिए ।
 
यस वर्ष गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा प्यागोडाशैलीको तीन तले मन्दिरमा झिँगटीको छाना निकाली पित्तलमा सुन लेपन गर्ने काम पनि शुरु भएको छ । दोस्रो तलाको छानामा सुन लेपन गरिएको पित्तल हाल्ने काम सम्पन्न भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।

दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 

वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन् । यस अवसरमा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ । यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन् । जोरपाटी चोकबाट गोकर्णेश्वर महादेव मन्दिर भएको सडक किनारमा बिहीबारदेखि अस्थायी पसल सञ्चालन सहित मेला लागेको छ । 
  
बिहीबारदेखि नै भक्तजनको भीड लागेपछि जोरपाटीबाट माथितिरको यातायात सञ्चालन भएको छैन । सडकको दूरावस्थाका कारण भने यात्रुले मन्दिर जान पनि सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । गत वर्षभन्दा यहाँको सडक बिग्रिएको पाइएको भक्तजन रामचन्द बस्यालले बताए । 
  
यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गोकर्णेश्वर महादेव मन्दिरमा पिताप्रति सम्मानका साथ श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औँशी पनि भनिन्छ । 
  
यसैगरी उपत्यका बाहिर बेत्रावतीस्थित उत्तरगया, देवघाट, त्रिवेणी, रिडी इन्द्रावती किनारस्थित स्फटकिश्वर महादेव मन्दिर क्षेत्र लगायत स्थानमा पनि भक्तजनको भीड लागेको छ । बाबु जीवित हुने छोरा छोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर मुख हेर्छन् । ‘पितृदेवो भव’ अर्थात् बाबुलाई देवता समान मान भन्ने वैदिक मान्यताअनुसार पितृ सम्मान गरी आजको पर्व मनाइन्छ । 
  
यसैगरी आज वर्षभर देव एवं पितृकार्यमा प्रयोग गरिने कुश घर घरमा भित्र्याइन्छ । ब्राह्मण पुरोहितले कुश छेदन गरी जजमानको घर घरमा पु¥याउने परम्परा छ । यसैले आजको दिनलाई कुशे औँशी पनि भनिन्छ । यस अवसरमा आज गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदासमेत दिएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।