जनकपुरधाम– सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गराइदिने भन्दै ठगी गर्ने सर्लाहीका जितेन्द्र यादव र महोत्तरीका पंकजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही मलंगवा नगरपालिका–११ बस्ने २५ वर्षीय जितेन्द्र यादव जनकपुरबाट पक्राउ परेका हुन् ।
जनकपुरधाम–८ स्थित याज्ञवल्क्य संस्कृत मावि ज्ञानकुपको मैदानमा भइरहेको ट्रायल परीक्षा पास गराइदिने भन्दै यादवले विभित्र व्यक्तिसँग रकम असुलेका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका यादवले ट्रायल परीक्षा पास गराइदिने भन्दै धनुषा मिथिला नगरपालिका–६ बस्ने देवेन्द्र यादवसँग पाँच हजार, र सबैला–१० बस्ने अरुणकुमार पंजियारसँग सात हजार लिएका थिए ।
यादव र पंजियारले दिएको उजुरीको आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी सन्तुलाल प्रसाद जैसवारले बताएका छन् ।
पक्राउ परेका यादवको साथबाट विभित्र व्यक्तिको सवारी चालक अनुमति पत्र बनाउन आवश्यक कागजात बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षीय पंकजकुमार सिंहलाई समेत पक्राउ गरेको छ ।
१० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै १ लाख ५१ हजार लिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनाविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४