काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले सरकारलाई छल्ने प्रयास नगर्न अटो व्यवसायीहरुलाई चेतावनी दिएका छन्।
सरकारले विद्युतीय सवारी साधनमा केही छुट दिएको फाइदा अटो व्यवसायीहरुले गलत ढंगबाट उठाएको उनको आरोप छ।
राजधानीमा मंगलबारबाट सुरु १४ औं ‘नाडा अटो शो २०१९’ को उद्घाटन गर्दै मन्त्री खतिवडाले भने, “कतिपय व्यापारीले हाइब्रिड गाडीको नाममा ब्याट्रीले स्टार्ट हुने तर, डिजेल हालेर मात्र चल्ने गाडीहरु ल्याएका छन्, त्यो तपाईंहरु मध्येकै व्यावसायी हुनुहुन्छ।” यसरी सरकारलाई छल्ने प्रयास नगर्न भन्दै उनले सरकारले त्यस्ता सवारीसाधनमा छुट नदिने बताए।
मन्त्री खतिवडाले १० वर्षमा थपिएका चारगुणा बढी सवारीसाधनले आयात र व्यापारघाटा बढाएको भन्दै व्यापारघाटा कम गर्न एसेम्बलिङ प्लान्ट स्थापनालाई प्राथमिकतामा राखेको बताए। उनले विद्युतीय गाडीको एसेम्बलिङ प्लान्टलाई प्राथमकिता राखिएको र त्ययसमा २५ प्रतिशत सरकारी संरक्षण रहने बताए।
नेपाल डब्ल्यूटिओको सदस्य राष्ट्र भएको नाताले ८० प्रतिशत भन्दा बढी भन्सार लगाउन नपाइने भए पनि देशले धान्नै नसक्ने अवस्था आएपछि गाडिमा अन्तशुल्क लगाइएको बताए।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा सबैभन्दा बढी (राजस्वको ३० प्रतिशत) राजस्व तिर्ने क्षेत्र अटोमोवाइल्स भएकोले यस क्षेत्रलाई सरकारले सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए। उनले अटोमोवाइल्स क्षेत्रबाट (पेट्रोलियम पदार्थ समेतलाई जोडेर) मात्र ४० प्रतिशत कर उठिरेहको र सवारीसाधनबाट मात्र ८४ अर्ब ४२ करोड रुपैयाँ कर उठ्नु आफैंमा ठूलो कुरा भएको बताए।
२१ ब्राण्डका कार र १९ ब्रान्डका मोटरसाइकलहरु प्रदर्शनमा राखिएको नाडा अटो शो ६ दिनसम्म चल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४