उदयपुर । जिल्लाको कटारी नगरपालिकाकी उपप्रमुखले गाडी किन्ने रकमबाट एम्बुलेन्स किन्न प्रस्ताव गरेकी छन् ।
उपप्रमुख भीमकुमारी राउतले नगरपालिकाले गाडी किन्न विनियोजन गरेको रकमबाट कटारी अस्पतालको एम्बुलेन्स किन्न प्रस्ताव गरेकी हुन् ।
नगरपालिकाले उपप्रमुख राउतका लागि नयाँ गाडी किन्न ४० लाख रूपैयाँ विनियोजन गरेको थियो ।
‘नगर विकास र जनसेवा गर्न जनताले निर्वाचनमा विजय गराएकाले जनताबाट उठाएको करबाट आफ्नो सुविधाका लागि गाडी किन्नु उचित लागेन । त्यसैले त्यो रकमले एम्बुलेन्स किन्न र अन्य काममा खर्च गर्न प्रस्ताव गरेकी हुँ,’ उनले सुनाइन् ।
उनका अनुसार नगरपालिकाले गाडी किन्न छुट्याएको ४० लाख रकममध्ये १५ लाख रूपैयाँ एम्बुलेन्स खरिदका लागि छुट्याइएको छ । बाँकी रकम कटारी–११, को बेतिनीमा अधुरो अवस्थामा रहेको पर्यटन भवन निर्माणमा खर्च गर्ने प्रस्ताव गरेको उनले बताइन् ।
कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले उपप्रमुख राउतको प्रस्तावसँगै एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाइने बताए ।
जिल्लाका आठ स्थानीय तहमध्ये अधिकांश नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुखले गाडी खरिद गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४