भैरहवा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकासका लागि विभिन्न योजना सार्वजनिक गरेको छ ।
मन्त्री योगेश भट्टराईले सार्वजनिक गरेको एक वर्षे कार्ययोजनामा लुम्बिनी क्षेत्रको विकासलाई समेटिएको छ ।
वार्षिक योजनामा गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देश समेतलाई समेटेर डकुमेन्ट्री तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचार प्रसार गर्ने, शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी वातानुकूलित डार्क च्यान्टिंग रुम नियमित संचालन गर्ने र बुद्ध दर्शन, लुम्बिनी, रामग्राम, गौतम बुद्ध र मायादेवी लगायतका प्राचीन, ऐतिहासिक कथालाई समेटेर खुला नाटक प्रदर्शनको व्यवस्था मिलाउने कार्यक्रम समेटिएका छन् ।
यस्तै, दुई वर्षभित्र लुम्बिनी क्षेत्रको गुरुयोजनाबमोजिम बाँकी काम सम्पन्न गर्न विस्तृत योजना बनाई कार्यान्वयन व्यवस्था मिलाउने, ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने, लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने ग्लोबल पिस एन्ड मेडिटेसन सेन्टर निर्माण सम्पन्न गर्ने, स्थानीय उत्पादनमा आधारित गिफ्ट सपको संचालनको व्यवस्था मिलाउने कार्यक्रम पनि योजनामा राखिएको छ ।
नेपाल भ्रमण वर्षको सन्दर्भमा समेत २५६४ औं बुद्ध जयन्ति भव्य रूपमा मनाउने, तेस्रो विश्व बुद्धिस्ट सम्मेलन गर्ने, लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने, युएन लुम्बिनी विकास कमिटिको बैठक आयोजना गर्ने योजनामा उल्लेख छ ।
योजनामा लुम्बिनी क्षेत्रको ऐतिहासिकता समेतलाई मध्यनजर गरी ५ लाख फलफूल लगायतका विभिन्न विरुवा कम्तिमा ३ वर्षभित्र रोप्ने व्यवस्था मिलाउन गुरुयोजना तयार गर्ने, लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन बौद्ध-विहार बसाइ अवधारणा विकास गरी कार्यान्वयन गर्ने, स्थलमार्गबाट लुम्बिनीमा आउने पर्यटकलाई सहज सेवा दिन रूपन्देही बेलहियामा पर्यटक तथा तीर्थयात्री स्वागत केन्द्र निर्माण गर्ने, लुम्बिनी परिषद् गठन गर्नेलगायत कार्यक्रम समेटिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४