काठमाडौँ- जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने गरि निषेधाज्ञा जारी गरेको छ ।
पूर्व सहकर्मीको आत्महत्या दुरुत्साहन आरोपमा सञ्चारकर्मी रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । रविका समर्थकहरुले दिनहुँ नाराबाजी र प्रदर्शन गर्न थालेपछि त्यसलाई रोक्न र भिड नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँचजना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका दिएका छन् ।
बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ ।
त्यसै गरी राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पुरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि यस्तो निषेध कायम रहने छ ।
त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो ।
‘न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएकाबाट भरतपुर–१० मा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हुलदंगा र अशान्ति हुन सक्ने देखेर आदेश जारी भएको हो’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
गत साउन २० गते नारायणगढको कंगारु होटलमा सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले आत्महत्या गर्नुअघि बनाएको भिडियोमा रवि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोहि भिडियोका आधारमा प्रहरीले रविसहित तीनै जनालाई साउन ३० गते पक्राउ गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४