इमा क्याथल (मदर्स मार्केट)– महिलाले मात्र सञ्चालन गरेको एशियाको सबैभन्दा ठूलो (सम्भवत संसारकै सबैभन्दा ठूलो) बजार हो। यहाँ कुनै पनि पुरुषले व्यवसाय गर्दैनन्। र, यो सधैं यस्तै थियो।
म्यानमारको सीमाभन्दा ६५ किलोमिटर वारी भारतको उत्तर–पूर्वी क्षेत्रको एक दुर्गम गाउँको कुनामा एउटा अनौठो बजार छ।
इंफालमा इमा क्याथल या मदर्स मार्केट कम्तीमा पनि ४ हजार महिलाले चलाउँछन्। यो एशियाकै वा विश्वकै यस्तो ठूलो बजार हुनसक्छ जसलाई महिलाले मात्रै चलाउँछन्।
इमा क्याथल महिलाले चलाउने बजारमात्र होइन, यो बजार चलाउने महिलाहरु (इमा) को सामाजिक र राजनीतिक सक्रियताको केन्द्र पनि हो।
कसरी यस्तो भयो, यो बुझ्न यहाँको विगतबारे अलिकति जानकारी हुनु जरुरी छ।

यहाँ महिलाकै मर्जी चल्छ
हरिया पहाडले घेरिएको मणिपुर १९ औं शताब्दीसम्म कंगलीपक साम्राज्य अन्तर्गत थियो।
मणिपुरी पुरुषहरुलाई सानै उमेरदेखि युद्धका लागि प्रशिक्षित गरेर साम्राज्यको सीमामा तैनाथ गरिन्थ्यो।
जीवनका बाँकी सबै काम महिलाको भागमा पथ्र्यो। मणिपुरी समतावादी समाजको जग यही नै थियो, जुन अझै कायम छ।
सबैलाई स्वागत
पाहुनाहरुका लागि इमा क्याथल मैत्रीपूर्ण छ। कसैले यहाँका इमाहरुसँग व्यक्तिगत रुपमा भेटघाट गर्न खोज्यो भने पनि उनीहरुको स्वागत नै गरिन्छ।
एउटी महिलाले मेरो हात समाइन्। मेरा आँखामा हेर्दै स्थानीय मैतेई भाषामा स्नेहपूर्ण केही शब्द बोलिन, जसको अर्थ थियो, “म निकै खुशी छु, तिमी यहाँ आयौ। धन्यवाद, धन्यवाद।”
यहाँ आएपछि सकारात्मक अनुभव हुन्छ, विशेषगरी इमाहरुका कथा सुनेपछि। जुन कथा सुनाउन उनीहरु सधैं उत्सुक देखिन्छन्।
इमाहरुको शक्तिको अन्दाज उनीहरुको हाउभाउबाटै लगाउन सकिन्छ।
अग्लो मञ्चजस्तो ठाउँमा पलेँटी कसेर बसेका उनीहरुले तिघ्रामा कुहिनो अड्याएर अघिल्तिर झुकेका हुन्छन्।
बजारमा आउने–जानेहरुसँग आँखामा आँखा जुधाएर कुरा गर्छन् र ठट्टा गर्न हच्किदैनन्। यहाँ पुरुष कमै देखिन्छन्।
ठूल्ठूला तीनवटा दुई तले भवनमा लाग्ने मदर्स मार्केटमा अधिकांश पसल खाने–पिउने सामाग्री र कपडाका छन्।
बजारमा ग्राहकहरु नभएका बेला इमाहरु लूडो खेलिरहेका देखिन्छन्। शायद उनीहरुको ‘टाइमपास’ खेल हो, यो।
हातले बुनेको स्कार्फ र सरोंगको थुप्रोका बीचमा बसेकी थाबातोंबी चंथम १६ औं शताब्दीमा यो बजार शुरु हुँदाको कथा सुनाउँछिन्।
मणिपुरमा मुद्रा प्रचलनमा आउनुअघि यो बजारमा बस्तु विनिमय हुन्थ्यो। चामलसँग माछा, भाँडा र विहेका लुगा साटिन्थे।
सन् २००३ मा राज्य सरकारले इमा क्याथलको ठाउँमा आधुनिक शपिंग सेन्टर बनाउने घोषणा गर्यो।
नयाँ शताब्दीमा त्यो पहिलो अवसर थियो जब यहाँ विरोधको झण्डा फहराइयो। इमाहरुले रातभर धर्ना दिए, त्यसपछि सरकारले आफ्नो योजना रद्द गर्यो।

मणिपुरको राजधानी इंफालको मदर्स मार्केट
बजारको ठिक बाहिर
इमा क्याथलका तीनवटा भवनका ठिक बाहिर सयौं महिलाहरु बसेका छन्। उनीहरु फल, तरकारी, जडीबुटी र सुकेका माछा बेचिरहेका हुन्छन्। यि वस्तुहरु मणिपुरी खानाका नभई नहुने वस्तु हुन्।
खुर्सानी र साग पिसेर बनाइने चट्किलो चट्नी इरोंबा यहाँको प्रिय खाना हो। माछासँगै इरोंबाको गन्ध यहाँका गल्लीहरुमा पर परसम्म फैलिएको हुन्छ।
बजारको बाहिर बसेका यि महिलाहरुसँग इमा क्याथलमा पसल थाप्ने लाइसेन्स नहुँदा उनीहरु सधैँ सतर्क रहन्छन्।
च्यान्थम भन्छिन, “पुलिसले उनीहरुलाई पक्राउ गर्ने वा जरिवाना गर्ने काम गर्दैन, उनीहरूले बेच्न ल्याएका माल–वस्तु सडकमै ओइराइदिन्छ।”
मैले ढलमा ताजामा जस्तो देखिने केही स्याउ देखेको थिएँ, ती यस्तै झगडामा फालिएका हुनसक्छन्।”

सम्मान प्रदर्शन
मलाई बजारका ४ हजार महिलाको मुख्य संगठन ख्वैरम्बन्द नूर क्याथल चलाउने इमाहरुसँग भेट गराउन च्यांथम तयार भएकी छन्, उनी आफैं पनि यो संगठनकी कार्यकारी सदस्य हुन्।
एउटा भवनको मथिल्लो तलामा उनीहरुको कार्यालय छ। ढोका बाहिर एउटा मान्छे उँघ्दै छ।
मंगोनगांबी तोंगब्रम नाम गरेकी एउटी इमाले उसलाई उठेर बाटो छोड्न भन्छिन्, ऊ आत्तिए झैं उठ्छ र शीर निहुराएर माफी माग्छ।

सशक्त आवाज
६० वर्षीया शान्ति क्षेत्रीमयम ख्वैरम्बंद क्याथलकी अध्यक्ष हुन्। उनी चार सन्तानकी आमा पनि हुन्।
उनी भन्छिन, “मलाई लोकतान्त्रिक तरिकाले ४ हजार महिलाले प्रतिनिधि चुनेका हुन्। थाहा छ ? मेरो सशक्त आवाजका कारण।”
क्षेत्रीमयम जब बोल्न थाल्छिन् सबै इमाहरु चुपचाप उनका कुरा सुन्न थाल्छन्। उनी भन्छिन्, “इमाहरुका लागि यो बजार र सम्पूर्ण मणिपुरमा केही फरक छैन। राज्यका लागि जुन कुरा महत्वपूर्ण छ, त्यसका लागि इमाहरु आफैं संघर्ष गर्छन्।”
इमाहरुको मुख्य आन्दोलनबारे सोधिएपछि उनले एउटा कथा सुनाइन्।
सन् १९५८ मा भारतको उत्तरपूर्वी क्षेत्रमा पृथकतावादी र विद्रोही शक्तिलाई नियन्त्रणमा राख्न भारत सरकारले सशस्त्र बल (विशेष अधिकार) कानुन अर्थात अफ्सपा बनायो।
यो कानुनले यहाँको अर्धसैनिक संगठन असम राइफल्सलाई विशेष अधिकार प्राप्त भयो। उसले अफ्सपा कानुन अन्तर्गत कसैमाथि पनि गोली हान्न सक्ने भयो। असम राइफल्सलाई यो कानुनको दुरुपयोग गरेको आरोप लाग्यो।
सन् २००४ सम्म असम राइफल्सको १७ औं बटालियन इम्फालको कंगला किल्लामा थियो।
यो कंगलीपक साम्राज्यका बेलाको संरचना हो जो इमा क्याथलभन्दा केही सय मिटरको दूरीमा छ। त्यो बेला सर्वसाधारण त्यतातिर जान सक्दैनथे।

विरोधको निर्णय
सन् २००४ मा एकजना मणिपुरी युवतीलाई अपहरण गरेर कंगला किल्लामा लगियो।
ती युवतीमाथि विद्रोहीसँग मिलेको आरोप लगाइएको थियो। उनीमाथि सामूहिक बलात्कार भयो। गोली हानेर शरीर छिया छिया पारियो।
जब उनको हत्याको खबर फैलियो, इमाहरुले यस्तो अमानवीय र क्रुर कारवाहीविरुद्ध आवाज उठाउने निर्णय गरे।
त्यसपछि भएको प्रदर्शन पूरै भारतमा चर्चित भयो। इमा क्याथलका १२ महिलाले पूर्ण नग्न भएर कंगला किल्लासम्म मार्च गरेका थिए।
उनीहरुले आफ्ना हातमा एउटा ब्यानर समाएका थिए, जसमा लेखिएको थियो, “भारतीय सेनाले हाम्रो बलात्कार गर्छ।”

प्रतिकात्मक जित
यो नग्न प्रदर्शन त्यसै खेर गएन। चार महिनापछि असम राइफल्स कंगला किल्लाबाट बाहिरियो।
असम राइफल्स मणिपुरको अरु भागमा अझै छ तर, इमाहरुले असम उसलाई मणिपुरको राजधानीको केन्द्रबाट बाहिरको बाटो देखाउनु प्रतिकात्मक जित थियो।
क्षेत्रीमयम भन्छिन, “यो बजार इमाहरुको एकताको शक्ति हो। जब हामी चार हजार महिला भेला हुन्छौं, त्यतिबेला आफूलाई सबैभन्दा शक्तिशाली ठान्छौं। हाम्रो सम्मिलित आवाजमा अचम्मको शक्ति आउँछ।”

एउटी पसलेको कथा
५६ वर्षीया रानी थिंगुजम ख्वैरम्बंद नूरी क्याथल संगठनकी सचिव हुन्। उनले माछाको ब्यापार गर्छिन्।
३० वर्षदेखि यहाँ काम गरिरहेकी रानीले त्यसको केही दिन पहिले आफ्ना श्रीमानलाई अन्तिम पटक देखेकी थिइन्।
उनी भन्छिन्, “मेरो कान्छो छोरो जन्मिएको ६ दिनपछि श्रीमान एउटी जवान महिलासँग घर आए। उनले दोस्रो विवाह गरेका रहेछन्। उनले कान्छी श्रीमतीलाई परिवारका सबैसँग परिचय गराउन थाले।”
त्यो साँझ र पूरा रात घरमा झगडा भइरह्यो। फेरि उनी त्यो महिलासँगै घरबाट निस्किए।
रानी ४० दिनसम्म त घरमै बसिन्, उनका श्रीमान फर्किएनन्।

दोस्रो जीवन
“ती दिनहरुमा मलाई बाँच्नै मन लागेको थिएन। विष खाइदिउँ र सधैंका लागि सुतिदिउँ जस्तो लाग्थ्यो।”
रानीले आफ्ना बुवासँग कुरा गरेर छोराछोरीलाई माइतीमा पठाइन्। केही दिनमा उनलाई इमा क्याथलमा पसल गर्ने अनुमति प्राप्त भयो र उनी आफ्नो परिवार धान्न सक्ने भइन्।”
आफूलाई बजारमै समर्पित गरेकी रानी अहिले बजारको सचिव र प्रमुख सामाजिक कार्यकर्ता पनि हुन्।
संसदमा इमा
जनवरी २०१९ मा रानी र अरु दुई महिला विमान चढेर दिल्ली पुगे।
त्यसअघि एउटा सरकारी विधेयकको विरोधमा इमा क्याथलमा प्रदर्शन भएको थियो, आन्दोलनका बेला महिलाहरुले आफूलाई ५ दिनसम्म क्याथलभित्रै बन्द गरेका थिए।
अवस्था तनावपूर्ण हुँदै जाँदा प्रहरीले उनीहरुलाई निकाल्न अश्रुग्यास हानेको थियो। ८ महिला घाइते भएका थिए। रानीले यो लडाईंलाई भारतीय संसदसम्म पुर्याइन्।
त्यसबेला सरकारले नागरिकता संशोधन विधेयक ल्याएको थियो। यसको उद्देश्य छिमेकी देशहरु पाकिस्तान, बांग्लादेश र अफगानिस्तानका हिन्दु, ईसाई र बौद्ध अल्पसंख्यकहरुलाई भारत आउन र भारतीय नागरिकता हासिल गर्न सहयोग पुर्याउँथ्यो।
मणिपुर र असमका प्रदर्शनकारीलाई राज्यमा बाहिरियाको बाढी आउने डर थियो। रानी भन्छिन, “हामीले मोदीको पुत्ला जलायौं।”
उनका अनुसार दिल्लीमा बस्ने केन्द्र सरकारले मणिपुरलाई बेवास्ता गरिरहेको छ। टाढाबाट लिइएको निर्णय मणिपुरको हितमा हुँदैन।
उनी भन्छिन, “भलै मणिपुर दिल्लीबाट २४०० किलोमीटर टाढा छ, तर तपाईं हामीलाई बेवास्ता गर्न पाउनुहुन्न।”
सबै महिलाको लडाई
इमा क्याथलका अधिकांश महिला मैतेई जातीय समूहका छन्, जो मणिपुरका मुल निवासी हुन्। मैतेई संस्कृति इंफाल र वरपरका उपत्यकाको प्रमुख संस्कृति हो।
नागरिकता संशोधन विधेयकले सबैभन्दा धेरै मैतेई समुदायका मानिसलाई नै प्रभावित गथ्र्यो, किनभने उनीहरु उपत्यकाको केन्द्रमा छन्। पहाडहरुमा बस्ने जनजातिलाई बाहिरियाको धेरै सामना गर्नै पर्दैन।
तर, यहाँका महिला मैतेई समूहका लागि मात्रै होइन, सबै भारतीय महिलाको लडाईमा पनि सहभागी हुन्छन्। जस्तो कंगला किल्ला घटनामा देखिएको थियो।
महिला पहरेदार

कंगला किल्लामा महिलाहरू मुक्त हाँसो हाँस्छन र तस्वीर खिचाउन पोज दिइरहेका हुन्छन्। मिलाएर सजाइएको चौरमा एक अर्काको हात समातेर मुस्कुराउँछन्।
सन् २००४ भन्दा पहिले यस्तो सोच्न पनि असम्भव थियो। यसको श्रेय निश्चित रुपमा इमा क्याथलका महिलाहरुलाई जान्छ।
क्षेत्रीमयम भन्छिन, “हामी राज्यका लागि लडाई जारी राख्ने छौं। यहाँका इमाहरुले मणिपुरको रक्षा गर्नेछन्– मैतेईका लागि मात्र होइन, उनीहरु सबैका लागि जो यहाँ बस्छन्।”
बीबीसीमा प्रकाशित लेखको भावानुवाद
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४