काठमाडौं - कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले आफूहरु भित्रै पनि सार्वजनिक सम्पत्ति लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिको विकास भएको बताएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै पोखरेलले यस्ता प्रवृत्तिले सार्वजनिक सम्पत्ति सुरक्षाको विषयमा चुनौति थपेको बताए।
'सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीहरु भित्रै समस्या छन्। म तपाईहरुलाई तोकेर भन्न चाहन्न। हामी भित्रै समस्या छन्। सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन्। यो गलत चिज हो। यसको विरुद्ध जुध्नुपर्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।', उनले भने। पोखरेलले मुलुकभर नै सार्वजनिक जग्ग हडप्ने प्रवृत्ति देखिएको र पार्टीहरुभित्र पनि त्यो प्रवृत्ति देखिएको बताए।
उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन्। सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतिको विषय बनेको उनले बताए। यसकाविरुद्ध एकजुट भएर लाग्न पनि उनले सबैमा आग्रह गरे।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४