काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्रको विवाद श्रीमान्-श्रीमतीको झगडा झैं भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचको विवादलाई गम्भीर रुपमा नलिन पनि आग्रह गरेका छन्।
‘श्रीमान्-श्रीमतीको झगडा भयो भने दिक्क मान्ने? बिहे गर्नु, छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु? समस्या त आउँछन्। नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ ।’, प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै नेता नेपालले भने,‘समस्याहरुको सामना गर्ने आँट र सामर्थ्य हुनुपर्छ। यदि तपाईंमा सामर्थ्य छैन भने तपाईं केही पनि गर्न सक्नुहुन्न।’
नेकपाको बिहीबार बसेको सचिवालय बैठकमा नेता नेपाल र अध्यक्ष ओलीबीच विवाद भएको थियो। उक्त विषयमा नेता नेपालले पारिवारिक, पार्टीलगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्य गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने बताएका थिए।
‘फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार’, बोलको गीतको उदाहारण दिँदै नेपालले भने,‘व्यक्तिको सोच, दृष्टिकोण, सामर्थ्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुन्छ। नेतृत्वले त्यसलाई बुझ्नु पर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४