जनकपुरधाम- दुई लाख पचास हजार भारुसहित दुईजना भारतीय पक्राउ परेको दुई दिन नबित्दै पर्सा प्रहरीले थप दुई जनालाई नक्कली भारुसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका–२ बैरिया विर्ता घर भएका ३४ वर्षीय दिलिप साह र वीरगंज महानगरपालिका–२ छपकैयाका ४८ वर्षीय जीमल अख्तर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यसअघि बुधबार इनरुवा भन्सार क्षेत्रबाट दुईजना भारतीय नागरिकलाई २ लाख ५० हजार भारुसहित पक्राउ गरेको थियो।
शुक्रबार पक्राउ परेका साह र अख्तरको साथबाट दुई हजार दरका नक्कली भारु नोट ९५ थान अर्थात् १ लाख ९० हजार नक्कली भारु बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
वीरगंजबाट रक्सौल पैदल गइरहेका दुबैजनालाई इदगाह चोकमा प्रहरीले शंकाको आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा उनीहरुको साथबाट दुई हजार दरको ९५ थान नक्कली भारु बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
नक्कली भारु नोटसहित पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४