काठमाडौं – नेपाल प्रहरीले एकैसाथ ३८ सय ३१ जनाको भर्ना प्रक्रिया सुरु गरेको छ। जसमा ३ हजार ५ सय ९६ जना प्रहरी जवान, २ सय ३५ जना कार्यालय सहयोगी तथा केही खेलाडी रहेका छन्।
प्रहरी मुख्यालयले रिक्त रहेका विभिन्न पदहरु पूर्ति गर्न कूल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरेको हो। नयाँ भर्नामध्ये प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी उपत्यकाको हकमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा आवेदन दिन सकिने छ।
त्यस्तै भर्ना प्रक्रियाका लागि ७ वटै प्रदेश, प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर,राजविराज, सप्तरी, दुधौली, सिन्धुली, पोखरा, बुटवल, सुर्खेत, नेपालगंज र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन तथा बुझाउन सकिने छ।
आवेदन दिने समय आगामी भदौ ९ गतेदेखि असोज १३ गतेसम्म तोकिएका छ।
भर्ना सम्बन्धी विस्तृत विवरण प्रहरीको वेबसाइट
https://www.nepalpolice.gov.np/ बाट समेत हेर्न तथा थप जानकारीका लागी मुख्यालयको भर्ना तथा छनौट महाशाखाको ०१-४४१४९०६ नम्बरमा फोन गरेर बुझ्न सकिने छ।
नेपाल प्रहरीमा सरुवा बढुवामा हुने चलखेल तथा अस्वस्थ प्रतिस्पर्धाका कारण पछिल्लो समय जागिर छाड्ने क्रम बढेको छ। पेन्सन कटौती हल्लाका कारण अधिकांश तल्लो दर्जाका प्रहरीले १६ वर्ष सेवाअवधि पुगेपछि पेन्सन लिएर अन्य निजी सुरक्षा संस्थामा काम गर्ने गरेका छन्।
हेर्नुस् विज्ञापन