आफ्नो फिल्म मिशन मंगलको प्रमोशमा व्यस्त बलिउड अभिनेत्री विद्या बालन विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छन् । यि बोल्ड अभिनेत्रीले फिल्मको प्रवद्र्धनका क्रममा विभिन्न विषयमा आफ्ना विचार पनि जाहेर गरिरहेकी छन् ।
हालै एउटा कार्यक्रममा उनले फिल्म हलमा राष्ट्रवाद खोज्नु गलत भएको अभिव्यक्ति दिएपछि उनको चर्चा चुलिएको छ । उनले बरु फिल्ममा राष्ट्रवाद देखाउन सकिने तर, फिल्म हलमा राष्ट्रवाद खोज्नु गलत हुने बताएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतमा केही महिना अघिदेखि फिल्म शुरु हुनुभन्दा अघि राष्ट्र गान बजाउनुपर्ने र त्यसक्रममा सबै दर्शक उठ्नु पर्ने व्यवस्था गरेको थियो ।
विज्ञान र धर्म
त्यस्तै उनले विज्ञान र धर्मबीच सामञ्जस्य खोज्नुको सट्टा एकअर्काको विरोधमा लागेको बताइन् । उनले भनिन, “अचेल धर्मलाई जसरी परिभाषित गरिंदै छ, त्यसले समस्या पैदा गरेको छ ।”
उनले आफू धार्मिक नभई आध्यात्मिक व्यक्ति भएको पनि दाबी गरिन् । अहिले धर्म असहिष्णुताको पर्यावाची बन्न पुगेकाले पनि आफू आध्यात्मिक हुँ भन्न परेको उनको भनाई थियो ।
फिल्म मिशन मंगलमा विद्याले विज्ञानभन्दा बाहिरको शक्तिमा भरोषा गर्ने पात्रको भूमिका निर्वाह गरेकी छन् ।
उनले अहिले विश्भर ‘तिमी’ र ‘म’ बीचको लडाई भइरहेको भन्दै आश्चर्य समेत व्यक्त गरेकी थिइन् । यस्तो लडाइँले सामुदायिक र मानवीय भावनालाई कमजोर पार्ने पनि उनको भनाई थियो ।
नेपालमा पनि
नेपालमा पनि सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले फिल्म शुरु हुनुअघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनु पर्ने व्यवस्था गरेको छ ।
असोज ३ गते संविधान दिवास मनाउका लागि मूल समारोह समिति गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबै जसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा सबै फिल्म हललाई त्यस्तो निर्देशन दिएको हो ।
राष्ट्र गानको सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने पनि गृहमन्त्रालयले जानकारी गराएको छ । सरकारको यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४