काठमाडौं– पृथकतावादी अभियान त्यागेर सरकारसँग ११ बुँदे सहमतिपछि जनमत पार्टी स्थापना गरेका सीके राउतले नयाँ वैचारिक मान्यता ‘सामुदायिक स्वराज’ लाई अगाडि सारेका छन् ।
सोमबार काठमाडौंमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा राउतले भने, “हामीले नयाँ राजनीतिक सिद्धान्त प्रतिपादन गरेका छौं, सामुदायिक स्वराज। यसै आधारमा हाम्रो संगठन अगाडि बढ्नेछ।”
विभेदमा परेका समुदायको मुक्तिका लागि सामुदायिक स्वराज आवश्यक भएको भन्दै उनले भाषा र संस्कृति मिल्ने समूह नै समुदाय रहेको बताए ।
उनले महात्मा गान्धीको ‘ग्राम स्वराज’ बाट प्रभावित भई सामुदायिक स्वराजको परिकल्पना गरेको पनि दाबी गरे।
जनमत पार्टीको घोषणापत्रमा भनिएको छ, “देशभित्रका हरेक नागरिकले यो हाम्रै राज्य हो यो हाम्रै शासन हो, भन्ने अनुभूति गुर्न नै स्वराज हो। अदृश्य रेखाहरु कोरेर कुनै भूखण्डलाई अलग गर्नु नै स्वराज होइन, बरु देशको भूभागभित्र पनि त्यहाँ बसोबास गर्ने हरेक वर्ग, समुदाय एवं जातजातिले राज्य व्यवस्थासँग अपनत्वको बोध गर्नु नै स्वराज हो।”
वैचारिक आधार स्तम्भ सामुदायिक स्वराज भनिएको घोषणापत्रमा त्यस अन्तर्गत जन–संप्रभुता, लोकतन्त्र, सामाजिक न्याय, र समाजवादलाई समावेश गरिएको छ । त्यसैगरी गणतन्त्र, संघीयता, स्वशासन र स्वायत्तता, आत्मनिर्णयको अधिकार, समानुपातिक समावेशी, लोककल्याणकारी राज्य र बहुलवादलाई पनि जनमत पार्टीले आफ्नो राजनीतिक मान्यता उल्लेख गरेको छ ।
दलहरुप्रतिको दृष्टिकोण
राउतले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई जमिन्दार–सामन्तहरुको पार्टी भन्दै आलोचना गरिएको छ ।
नेकपाभित्र तत्कालीन एमाले र माओवादीलाई छुट्ट्याएर विश्लेषण गरिएको घोषणापत्रमा एमालेलाई उग्र–एकलजातीय राष्ट्रवादको पक्षपोषण गरेको र अरु समुदायलाई सीमान्तकृत बनाएर विस्थापित गर्ने काम गरिरहेको आरोप लगाइएको छ।
माओवादीलाई ‘जनताको आशामाथि तुषारापात गर्दै यथास्थितिवादी शक्तिमै विलिन भएको’ भनिएको छ ।
त्यस्तै राजपालाई सिद्धान्त, एजेण्डा र अडान बिनाको, सत्तामा जानका लागि गुटवन्द भएको अवसरवादी नेताहरुको झुण्ड भएको आरोप लगाइएको छ भने, समाजवादी पार्टीलाई व्यक्तिगत महत्वाकांक्षा परिपूर्तिका लागि मधेशी जनताको बलिदानीलाई बेच्दै आएको अवसरवादी सत्तामुखी शक्ति भन्दै आलोचना गरिएकोे छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४