काठमाडौं– बालबालिकाको क्षेत्रमा काम गर्ने भनिएको एक गैरसरकारी संस्थाले दुर्गमका बालबालिकालाई काठमाडौं ल्याएर उनीहरुमाथि दुर्व्यवहार गरेको खुलेको छ ।
नागार्जुन नगरापालिका– ४ बाफलस्थित वाइसीएससी नामक संस्थाले पश्चिमका विभिन्न जिल्लाबाट ल्याइएका बालबालिकामाथि दुव्र्यवहाहर भइरहेको सूचना पाएपछि प्रहरीले उक्त संस्थामा छापा मारेको थियो ।
त्यहाँ रहेका ९ जना बालबालिकालाई नेपाल प्रहरीको बालबालिका खोजतलास केन्द्रले उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकामध्ये केहीले आफूमाथि यौन दुर्व्यवहार भएको समेत बताएका छन् ।
ती बालबालिकाहरु कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएको बुझिएको प्रहरीले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका र अभिभावक नभएका बालबालिका लाई राम्रो शिक्षा दिने भन्दै उक्त संस्थाले काठमाडौ ल्याएको थियो ।
केन्द्रले उद्धार गरेका मध्ये ५ जना बालिका र ४ जना बालक छन । संस्थाले कर्णाली प्रदेशबाट १५ जना बालबालिका ल्याएको भनिए पनि फेला नपरेका बाँकी ६ जनाको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका बालबालिकाले आफूहरुलाई यौन क्रियाकलापमा संलग्न गराएको साथै खान बस्न पनि राम्रोसँग नदिएको आरोप लागाएका छन् ।
केन्द्रका अनुसार ती बाल बालिकाको उमेर ५ देखि ११ वर्षसम्म छ ।
उद्धारमा खटिएका बालबालिका खोजतलास केन्द्रका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम दाहालले दिएको जानकारी अनुसार सडक बालबालिकाको क्षेत्रमा काम भनिएको उक्त संस्थामा बालबालिकालाई आवश्यक न्यूनतम सुविधा र पूर्वाधार समेत छैन । न त संस्था कतै दर्ता भएको छ ।
उक्त संस्थाकी संचालक भनिएकी कोपिला कुँवर सम्पर्कमा आएकी छैनन। प्रहरीले संस्थामा आवद्ध बर्दियाका रत्न परियार, काठमाडौंका प्रताप रानामगर र ललितपुरका सुजित रायमाझी लाइ नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४