काठमाडौं - यस वर्ष सरकारले भव्य रुपमा संविधान दिवस मनाउने भएको छ। राष्ट्रिय झण्डालाई यस वर्षको आकर्षणको केन्द्र बनाउने तयारी गरिएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले असन्तुष्ट पक्षहरुलाई पनि समेट्ने गरी संविधान दिवस मनाउने निर्णय गरेको छ।
संविधान जारी हुँदा मधेशका जिल्लाहरुमा कर्फ्यू लगाइएको थियो भने मधेश केन्द्रीत दलहरुले संविधान सभा बहिस्कार गरेका थिए। संविधान दिवसका अवसरमा उनीहरुले असन्तुष्टि जनाउँदै कालो दिवस मनाउँदै आएका छन्। यस पटकको दिवसमा उनीहरुलाई पनि सक्रिय सहभागी गराउने तयारी भइरहेको गृहमन्त्रालयका सचिव प्रेम राईले जनाए।
राईका अनुसार यस पटकको संविधान दिवसको मुख्य आकर्षण नेपालको राष्ट्रिय झण्डा रहनेछ। झण्डाको व्यापक प्रयोगका साथै कागज र कपडाको झण्डा बाहेकलाई निषेध गरिएको छ। उनका अनुसार विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागीतामा जोड दिइनेछ।
असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं ब्यानरले नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाई गरि साँझ दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने कार्यक्रम रहेको राईले जानकारी दिए।
उनले नेपालको संविधानमा केन्द्रीत भएर संचार माध्यममा बहस चलाउने लगायतका कार्यक्रम तय गरिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४