काठमाण्डौं- भारतीय विदेशमन्त्री एस जयशंकर केहीबेर अघि काठमाडौं आइपुगेका छन् ।
उनलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।
बुधबारदेखि काठमाडौंमा शुरु हुन लागेको मन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आइपुगेका भारतीय विदेश मन्त्री एस जयशंकरको सुरक्षाका लागि प्रहरीले उच्च सर्तकता अपनाएको छ ।
उनको विरोधमा प्रदर्शनको सूचना पाएकाले सुरक्षा सतर्कता बढाएको नेपाल प्रहरीले जनाएको छ ।
जयशंकरको सुरक्षाका लागि विशेष पेट्रोलिंग, गस्ती तथा सादा पोशाकका ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
नेपालले संविधान जारी गर्नु ठिक अघि नेपाल आएर संविधान जारी नगर्न दबाब दिएका जयशंकर त्यसबेला विदेश मन्त्रालयका सचिव थिए ।
तर, उनको दबाबका बावजुद संविधान जारी भएपछि भारतले नेपालमाथि नाकावन्दी गरेको थियो ।
बांग्लादेशको तीन दिने भ्रमण सकेर जयशंकर ढाका हुँदै काठमाडौं आइपुगेका हुन ।
भारतमा नरेन्द्र मोदी दोस्रो पटक सत्तामा पुगेपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।
आयोगको बैठकमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ ।
राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षा विषयमा छलफल हुने कार्यसूची छ ।
यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोलियम लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।
बैठकमा नेपालले दुई देशका प्रधानमन्त्रीको तहमा दुईपटक छलफल भएको डुबान समस्या र त्यसबारे संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदन कार्यान्वयनमा जोड दिनेछ ।
प्राविधिक टोलीको प्रतिवेदनमा भारतले नदीको प्राकृतिक बहाव अवरुद्ध गरेका कारण डुबानको समस्या देखिएको उल्लेख गरेको परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।
नेपालले सार्कलाई सक्रिय बनाउनुपर्ने धारणा पनि राख्नेछ । बैठकपछि ५ भदौमा संयुक्त वक्तव्य जारी हुनेछ ।
परराष्ट्रमन्त्रीस्तरीय आयोग नेपाल–भारतबीचको सबैभन्दा उपल्लो तहको द्विपक्षीय संयन्त्र हो ।
उनी बिहीबार साँझ भारत फर्कने कार्यक्रम छ ।
