काठमाडौं- प्रहरीले निर्मला पन्त लगायतका दर्जनौ व्यक्तिको हत्यारा पत्ता लगाउन नसकेको यथार्थ जति तितो छ, हत्याको श्रृखला बढ्दै गएको तथ्याङ्क उति नै डरलाग्दो देखिएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको आँकडा अनुसार नेपालमा पछिल्लो तीन वर्षमा १ हजार ९०३ व्यक्ति हत्याका घटना भएका छन् ।
प्रहरीले अपराध नियन्त्रणमा सफलता हासिल गरेको दाबी गरिरहँदा बढ्दो हत्याको दर र अपराधी पक्राउ गर्ने दरबीचको भिन्नता पनि बढ्दो छ ।
आर्थिक वर्ष २०७५/०७६ मा जम्मा ६५९ जनाको हत्या भएको छ । यसमध्ये प्रहरीबाट फस्र्यौट भएको मुद्दा संख्या १६७ (२५%) छ । यि हत्याका घटनामा अनुसन्धानका लागि प्रहरीले ९६९ जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा ६२८ व्यक्तिको हत्या भएकोमा प्रहरीका तर्फबाट ५५५ (८८%) वटा मुद्दा फस्र्यौट भएका थिए । यि घटनामा ८७० जना पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०७३/०७४ मा– ६१६ जनाको हत्या भएकोमा ५३१ (८६%) घटनाको मुद्दा फस्र्यौट भएको थियो । उक्त वर्ष भएका हत्याका घटनामा अनुसन्धानका लागि प्रहरीले ९३१ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धान पुरा गरी सरकारी वकिलको सहयोगमा अभियुक्तविरुद्ध अदालतमा मुद्दा चलाइसकेपछि त्यस्ता घटनालाई प्रहरीका तर्फबाट फस्र्यौट भएका मुद्दा भनिन्छ । यद्यपि, त्यस्ता धेरै मुद्दाहरु अदालतमै विचाराधिन छन् ।
उपरोक्त तथ्यांकलाई केलाउँदा एकातिर हत्याको दर बढ्दै गएको देखिन्छ भने हत्यारा पत्ता लगाउनमा प्रहरी चुकिराखेको पनि देखिन्छ । दक्ष जनशक्तिको अभाव, आधुनिक प्रयोगशालाको अभावको कारणले गर्दा अपेक्षा अनुसारको नतिजा नआएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बताउँछन् ।
“स्रोत साधनको अभावकै कारणले पनि कतिपय घटनाका दोषी पत्ता लगाउँन नसकिएको छैन,” उनले भने ।
पछिल्लो समय भएका अधिकांश हत्यामा पारिवारिक विवाद प्रमुख कारण देखिएको छ । यसले हाम्रो समाज कतै निर्मम र निराश त बन्दै छैन भन्ने प्रश्न खडा भएकोे छ।
किन कमजोर भयो अनुसन्धान ?
पूर्व प्रहरी अधिकारीहरुका अनुसार हत्यारा पत्ता नलाग्नु र अनुसन्धान फितलो हुनुका पछाडि प्रमुख दुई कारण छन् ।
पहिलो राजानीतिक दबाब र, दोस्रो अनुसन्धानका लागि स्रोत साधनको अभाव । यही दबाब र अभावका कारण प्रहरीको अनुसन्धान प्रभावकारी नबनेको पूर्व डीआइजी केशव अधिकारी बताउँछन् ।
उनी भन्छन्– “यहाँ अनुसन्धानमा कमजोरीभन्दा पनि सत्ता र शक्तिवालाहरुको दबाबका कारण धेरै दोषिहरु उम्किएका छन् ।”
अति राजनीतिक हस्तक्षेप र पहुँचवालाको दबाबका कारण प्रहरीले उच्च मनोवलका साथ काम गर्न नसकेको उनको अनुभव छ ।
प्रहरी संगठन भित्रकै आन्तरिक किचलोले पनि कयौं घटनामा प्रभावकारी अनुसन्धान हुन नसकेको उनी बताउँछन् ।
प्रदेश अनुसार हत्याका घटना
आर्थिक वर्ष २०७३/०७४
उपत्यकामा– ५६
पूर्वाञ्चलमा १६७
मध्यमाञ्चलमा– १३४
पश्चिमाञ्चलमा– १०१
मध्यपश्चिमाञ्चलमा– ९४
सुदुरपश्चिमाञ्चलमा– ६३
जम्मा– ६१६
आर्थिक वर्ष २०७४/०७५
उपत्यकामा– ५३
प्रदेश– १ मा – ११०
प्रदेश–२ मा– १२२
प्रदेश–३ मा– ८२
गण्डकी प्रदेशमा– ५५
कर्णाली प्रदशमा– ४५
सुदुर पश्चिम प्रदेशमा– ४७
जम्मा ६२८
आर्थिक वर्ष २०७५/०७६
उपत्यकामा– ६०
प्रदेश– १ मा– १२९
प्रदेश– २ मा– १३७
प्रदेश– ३ मा– ६०
गण्डकी प्रदेशमा– ५८
प्रदेश– ५ मा– १२०
कर्णाली प्रदेशमा– ४७
सुदुरपश्चिम प्रदेशमा– ४८
जम्मा ६५९
तीन वर्षमा भएको हत्याका घटनामा १ हजार ९०३ व्यक्ति मारिएका छन् । जसमध्ये आधा घटनाको मुद्दाको पनि किनारा लाग्न सकेको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४