सुर्खेत – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको व्यानर छापेको आरोपमा सल्यानमा एक व्यापारी पक्राउ परेका छन्। जिल्लाको श्रीनगरमा केसी डिजिटल आर्ट पसल सञ्चालन गर्दै आएका हरि केसीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले प्रक्राउ गरेको छ। प्रहरीले केसीलाई पसलबाटै पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार केहिदिन अघि नेकपाले छत्रेश्वरीको लान्तीमा जग्गा कब्जा गर्दा त्यहाँ प्रयोग भएका ब्यानर र झण्डा उनले छापेका थिए।
सल्यानका प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीका अनुसार अपराधिक क्रियाकलापमा चाहिने सामग्री निर्माण गरेकाले केसीलाई पक्राउ गरिएको हो। सरकारले प्रतिबन्ध लगाएको जान्दाजान्दै पनि सरकार विरोधी काम गरेकाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी भनाइ छ।
यस्तै उनीसँगै विप्लव निकट विद्यार्थी संगठन दुई जना जिल्ला सदस्यसमेत पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागचौर नगरपालिका–५ का महेशकुमार विक र शारदा नगरपालिका –१३ स्यानीखालका सुरेश भारती रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४